Logo

समाचार

रसुवामा स्थानीय तहका २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाए



काठमाडौं । रसुवामा स्थानीय तहको निर्वाचनमा भाग लिएका २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भाग लिएकामध्ये २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका हुन् ।

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको ३० दिनभित्र सबै उम्मेदवारले खर्च विवरण निर्वाचन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । सोहीअनुरुप जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक सूचना जारी गरी विवरण बुझाउन सबै उम्मेदवारहरुलाई आग्रह गरेको थियो ।

निर्वाचनमा ४ सय ६५ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन सम्पन्न भएको एक महिला पुग्दा हालसम्म २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

पालिका अध्यक्षमा नेशनल मंगोल अर्गनाइजेसनबाट उम्मेदवारी दिएका एक जना र बाँकी वडा सदस्यले निर्वाचन खर्च विवरण बुझाएको उनले बताए । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार खर्च विवरण बुझाएकामध्ये पालिका अध्यक्षमा उम्मेदवारी दिएकाले ३३ हजार २ सय खर्च गरेको विवरण बुझाएका छन् । त्यसैगरी वडा सदस्यमा उम्मेदवारी दिएकाहरुले ३२ सय देखि १ लाख ५० हजार सम्म खर्च गरेको विवरण बुझाएका छन् ।

जिल्लामा रहेका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पार्टीबाट उम्मेदवार बनेकाहरुले निर्वाचन खर्च विवरण हालसम्म नबुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

वैशाख ३० गते भएको निर्वाचनको अन्तिम परिणाम जेठ ३ गते आएको थियो । जेठ ३ गतेभित्र उम्मेदवारहरुले खर्च विवरण सार्वजनिक गर्नुपर्ने निर्वाचन अधिकारी थापाले बताए ।

‘अन्तिम परिणामको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने हुन्छ । जिल्लामा निर्वाचनको अन्तिम मतपरिणाम जेठ ३ गते आएको थियो, उनले भने, ‘खर्च विवरण बुझाउन हामीले स्थानिय तहहरुमा पनि जानकारी गराएका छौँ । खर्च विवरण आउने क्रम जारी छ, सबैको आएको छैन् ।’

स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षले ३ लाख ५० हजार, वडाध्यक्ष र वडा सदस्यले १ लाख ५० हजारसम्म खर्च गर्न पाइने व्यवस्था थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : ३८ बजे