Logo

खेलकुद

एनएसएलको नयाँ मिति भदौ अन्तिम सातालाई



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि भदौ अन्तिम सातादेखि कार्तिक पहिलो सातासम्मको समय उपलब्ध गराएको छ ।

एन्फाले सोमबार आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई पत्र काट्दै एनएसएलका लागि भदौ २५ गतदेखि कार्तिक ५ गतेसम्मको समय उपलब्ध गराएको हो ।

साथै एन्फाले प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु खेल हुनुपूर्व स्वीकृत गराउन आग्रह गरेको छ ।

यसअघि एनएसएलको दोस्रो संस्करण चैत्र २६ गतेदेखि ८ गतेसम्म हुने तय भए पनि सहभागी क्लबहरुले तयारीका लागि समय नपुग्ने बताएपछि प्रतियोगिता स्थगित भएको थियो ।

त्यसपछि प्रतियोगिता आयोजनाको लागि आयोजकले एन्फासँग भदौ २५ देखि कार्तिक ५ गतेसम्मको समय माग गरेको थियो ।

प्रतियोगिताको लागि आयोजकले गत फागुन २० गते खेलाडी अक्सनसमेत गरेको थियो । एनएसएलको दोस्रो संस्करणमा असन्तुष्ट जनाउँदै ‘ए’ डिभिजन लिगका क्लबहरु समेत विरोधमा उत्रिएका थिए । जसका कारण प्रतियोगिता निर्धारित समयमा हुन सकेको थिएन ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : ३७ बजे