Logo

समाचार

राप्रपाद्धारा चार विभागमा मनोनित, ज्वाला भइन् सामाजिक विभाग प्रमुख


२७ जेष्ठ २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । स्थानीय चुनावमा राम्रो परिणाम हांसिल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय विभागलाई बिस्तार गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले थप चारवटा विभागमा नेतृत्व मनोनित गरेका हुन् ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले बिहीवार जारी गरेको विज्ञप्ति अनुसार, विधान बमोजिम स्थानीय तह परिचालन विभागको उपाध्यक्षमा रोशन कार्की,महिला विभाग प्रमुखमा महामन्त्री कुन्ती कुमारी शाही, शिक्षा विभागमा केन्द्रीय सदस्य डा राजेश गिरी, र सामाजिक विभागमा ज्वाला संग्रौला मनोनित भएका छन् ।

पार्टीको धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सल्लाहकार समितिका अध्यक्ष निरन्जन थापाको संयोकत्वमा गठित विवाद समाधान तथा छानविन समितिलाई पूर्णता दिइएको छ ।

समितिमा महामन्त्री प्रल्हाद प्रसाद शाह सदस्य सचिव र ऋषि वावु परियार, केन्द्रीय सदस्य सरस्वती केसी अधिकारी र वरिष्ठ अधिवक्ता राजु वस्नेत सदस्य रहेका छन् । समितिले छिट्टै प्रतिवेदन तयार गरेर अध्यक्ष लिङ्देनलाई बुझाउनेछ ।

राजनीतिमा इन्ट्रीसंगै विभागीय जिम्मेवारीमा बाजी मार्ने ज्वाला को हुन् ?

राप्रपालाई कुनैबेला बुढापाकाहरुको पार्टी भनिन्थ्यो । तर, जब लिङ्देन पार्टी अध्यक्ष भए, तब युवाहरु राप्रपामा आर्कषित भए । समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरु राप्रपा प्रबेशको लहर नै चल्यो । स्थानीय चुनावअघि यो पार्टीले देशव्यापी कार्यक्रम गर्दा धेरै व्यक्ति प्रबेश गरे । यसै क्रममा ज्वाला संग्रौला पनि यो पार्टीमा भित्रिएकी हुन् । उनि यसअघि सामाजिक काममा सक्रिय थिइन् ।

पार्टीमा अझै पनि केन्द्रीय तहमा पुराना नेताहरु नै छन् । प्रकाशचन्द्र लोहनी, रोशन कार्कीदेखि कुन्तीकुमारी शाहीसम्म धेरैजसो पुराना नेता हुन् ।

यहि पुराना नेताहरुको भीडमा केहि युवाहरुले यो पार्टीको जिम्मेवारीमा बाजी मारेका छन् । यी मध्ये ज्वालाले पार्टी प्रवेश गरेको छोटो समयमै महत्वपुर्ण जिम्मेवारी पाएकी छिन् । ‘मेरो रुचि सामाजिक काममा थियो र हुनेछ, सायद यसैलाई बुझेर मलाई सामाजिक विभागको जिम्मेवारी पार्टीले दियो,’उनले भनिन् ।

उनीले यसअघि विभिन्न सामाजिक कामहरु गरिन् । कालीकोटमा एक सामुदायीक अस्पताल बनाउन उनले ठुलो भुमिका खेलिन् । लकडाउनका बेला विभिन्न पीडितहरुलाई राहत वितरणदेखि अन्यायमा परेका महिलाहरुको आवाज उठाउँदै आइन् । उनको पहलमा पैसाको अभावमा दर्जनौं उपचार नपाएका व्यक्तिले नयाँ जीवन पाएका छन् । उनि धेरै सामाजिक संजालमा सक्रिय रहन्छिन् ।

कडा मिजास स्वभावकी ज्वालालाई आलोचना गर्नेहरु पनि छन् । ‘आलोचनाले पनि सही बाटो देखाउँछ, तर, गलत नियतले गरेको आलोचना म सहन सक्दिन,’ उनि भन्छिन्, सबै आलोचक गलत हुँदैनन्, कोहि कोहि भने खराब छन् ।’ आलोचनालाई जितेरै आँफु राजनीतिमा हाम् फालेको उनले बताइन् । पार्टी अध्यक्षले दिएको जिम्मेवारीलाई इमान्दारपुर्वक पुरा गर्न अब झन कस्सिएर लाग्नेछु, उनले भनिन् ।

राप्रपाका प्रवक्ता श्रेष्ठले उपयुक्त व्यक्तिका आधारमा विभागीय जिम्मेवारी दिइएको बताए । धेरै युवा साथीहरुको अथक मिहिनेतले स्थानीय चुनावमा राप्रपाले राम्रो नतिजा ल्याएकोले सक्रिय सदस्यहरुलाई जिम्मेवारी दिंदै जाने उनको भनाई छ ।
राप्रपाले आसन्न प्रतिनिधि सभा चुनावमा धेरै युवा नेताहरुलाई मैदानमा उतार्ने भएको छ ।

पार्टी स्रोतका अनुसार, बिषय विज्ञ र विभिन्न क्षेत्रका जानकार व्यक्तिहरु पनि उम्मेदवार बनाउने तयारी छ । यसका लागि पार्टीले आन्तरिक रुपमा उम्मेदवार छनौट शुरु गरिसकेको छ । विवाद समाधान तथा छानविन समितिको प्रतिवेदन बुझेपछि केन्द्रीय समितिले उम्मेदवार छनौटको गृहकार्यलाई तिव्रता दिने राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १२ : ०१ बजे