Logo

मुख्य समाचार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा जारी छ ।

स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बसेको हो । बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी लगायत शीर्षस्थ नेताहरू सहभागी छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि बैठकस्थलमा पुग्दैछन् । पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले सबै बरिष्ठ नेताहरुको बैठकमा सहभागी रहने जानकारी दिए ।
स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो ।

राप्रपाले यस पटक झापाको दमक नगरपालिकामा बाहेक अन्य स्थानीय तह निर्वाचनमा एक्लै निर्वाचनमा गएको थियो । एक्लै जाँदा पनि झापाकै हल्दिबारी गाउँपालिका, काठमाडौंको शंकरापुर नगरपालिकासँगै रुपन्देहीमा शिवराज नगरपालिका राप्रपाले जितेको छ ।

चार स्थानीय तह जिते पनि राप्रपाले जनलहर पार्टीको पक्षमा आएको निर्वाचनअघि दाबी गरिसकेको छ । निर्वाचनअघि राप्रपाबाट एक जना पूर्वअध्यक्ष कमल थापा भने अलग भएका छन् । उनी हाल राप्रपामा नेपालका अध्यक्ष छन् । उनी अलग भए पनि पार्टीको गत मंसिरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित ठूलो टिम र पूर्व दुई अध्यक्षसँगै एक जना पूर्वप्रधानमन्त्री चन्द पनि राप्रपामै छन् । राप्रपामा विभिन्न सामाजिक व्यक्ति, चर्चित अभियन्ताहरु पनि जोडिएका छन् ।

यो बजेटले नागरिकको जीवन परिवर्तन गर्न सक्दैन : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन अहिलेको बजेटले आम मानिसको जीवन परिवर्तन गर्न नसक्ने बताएका छन् ।

आगामी निर्वाचनलाई लक्षित गरेर मात्र बजेट ल्याइएको भन्दै उनले यो बजेटले आर्थिक संकट र मूल्यवृद्धि रोक्न नसक्ने जिकीर समेत गरे ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले भने, ‘इमान्दारीपूर्वक भन्नुपर्छ यसले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन । अहिले जुन प्रकारको आर्थिक संकट देखिंदै गएको छ, जुन प्रकारको मूल्यवृद्धि देखिंदै गएको छ त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन । यो बजेट केबल निर्वाचन लक्षित छ । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ ।’

अध्यक्ष लिङ्देनले यो बजेटको स्रोत र यसको कार्यान्वयनका आधारहरु स्पष्ट नभएको बताए । राप्रपाले सरकारको बागडोर सम्हालेपछि मात्र आर्थिक सवलीकरण हुने उनले दावी गरे ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ३ : १८ बजे