Logo

Breaking News 1

सरकारले कुन कुन शिर्षकमा कति बजेट विनियोजन गर्यो ?



काठमाडौं । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले वित्त आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड वित्तीय हस्तान्तरण हुने बताएका छन् ।

अर्थमन्त्री शर्माद्धारा प्रस्तुत बजेटमा सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अब रुपैयाँ विनियोजन भएको छ । यसका साथै, पूर्वाधार सम्बन्धी आयोजना पुरा गर्न समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड विनियोजन भएको छ । यस्तै, विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

यस्तै, राजश्व बाँडफाँडतर्फ प्रदेशलाई १ खर्ब ६१ अर्ब रुपैयाँ रकम हस्तान्तरण हुनेछ । सरकारले आगामी आर्थिक वर्ष नेपालको आयात २० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । अर्थमन्त्री शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा नेपालको व्यापारघाटा घटाउने रणनीति लिने जनाए ।

उनले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने घोषणा गरे । यस्तै, आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने र त्यसका लागि निर्यात प्रोत्साहन गर्न सरकार लागि पर्ने समेत बताए ।

आयात प्रतिस्थापन गर्न स्वदेशमा उत्पादन उपभोग र निर्यात सम्भावना भएको कृषि उद्योग र उत्पादनमूलक उद्योगको प्रवर्द्धन गरेर उत्पादन बढाइने भएको छ । यस्तै, उत्पादनको सम्भावना भएका कृषिजन्य वस्तु उत्पादन र प्रशोधन गर्दै आयात प्रतिस्थापनमा जोड दिइने छ ।

नेपालमै उत्पादन सम्भावना भएका उद्योगबाट उत्पादित वस्तुको खपतमा जोड दिइने समेत अर्थमन्त्री जनार्दन शर्माले बताए । यसैगरी, उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, फुटवेयर र खानेपानी जस्ता वस्तुको निर्यात प्रबद्र्धन गरिने छ । यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ । मासिक १० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई २ प्रतिशतसम्म छुट दिइने व्यवस्था बजेटले गरेको छ ।

सरकारले औद्योगिक पूर्वाधार निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

उक्त रकम देशका विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणमा लगानी गरिने छ । यस्तै, औद्योगिक ग्राम र औद्योगिक क्षेत्रको निर्माणमा समेत लगानी गरिने छ ।

सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ । अर्थमन्त्री शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : ५७ बजे