Logo

मुख्य समाचार

पल शाहकै कानुन व्यवसायीको आग्रहमा सुनुवाई पुनः सारियो



काठमाडौं । नाबालिग बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई नहुने भएको छ । उच्च अदालत पोखरामा बिहीबारको लागि पेशी तोकिए पनि सुनुवाई स्थगित भएको हो ।

उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा पेशी तोकिएको थियो । शाहका कानुन व्यवसायीको निवेदनपछि सुनुवाई स्थगित गरिएको हो । यो इजलासको पहिलो नम्बरमै मुद्दाको पेशी थियो ।

पलसँगै उनका म्यानेजर कृष्ण जोशीको समेत सुनुवाई स्थगित भएको हो । यतिबेला उनी पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । जिल्ला अदालत नवलपुर र तनहुँका आदेशविरुद्ध तीन वटा निवेदन उच्च अदालत पोखरामा परेका छन् ।

दुवै जिल्ला अदालतले पल शाहलाई थुनामा पठाउने आदेश दिएका थिए । तनहुँको आदेशविरुद्ध १८ चैत २०७८ र नवलपुरको आदेशविरुद्ध १३ वैशाखमा पलले उच्च अदालतमा निवेदन दिएका थिए ।

उनले थुनामुक्त भएर मुद्दा लड्न पाउँ भनि निवेदन दिएका थिए । २४ चैत २०७८ मा दुवै पक्षका कारण स्थगित भएको थियो । त्यसपछि ८ वैशाखमा पेशी तोकिएको थियो । तर, त्योबेला शाहका कानुन व्यवसायी नवलपुरमा बकपत्रका लागि पुगेका थिए । भोलिपल्टै पोखरा पुग्न नसक्ने भन्दै उनीहरूले नै स्थगित गराएका थिए ।

त्यसपछि १५ वैशाखमा मुद्दाको पेशी तोकिएको थियो । त्यतिबेला उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको इजलासले शाहको तर्फबाट अर्को पनि निवेदन परेको भन्दै त्यसलाई पनि साथै राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  २ : २० बजे