Logo

Breaking News 1

बलात्कार घटनामा शीघ्र छानबिन गर्न सभामुखको रुलिङ



काठमाडौं । हालै सार्वजनिक बलात्कारको एक घटनाका दोषीलाई शीघ्र कानुनी दायरामा ल्याउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुखले भने ‘एक सदस्यले प्रारम्भमा प्रस्तुत गर्नुभएको यौन हिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकालाई निर्देश गर्छु’।

त्यसअघि सांसद गगन थापाले बलात्कारसम्बन्धी कानुनमा रहेको हदम्यादको पुनर्विचारका लागि सरकारलाई निर्देशन दिन सभामुखसमक्ष आग्रह गरेका थिए। ‘यो संसद्‌बाट बनाएको बलात्कारसम्बन्धी कानुन, हाम्रो फौजदारी संहिताको खासगरी हदम्यादसम्बन्धी विषयमा पुनर्विचार गर्न पनि सरकारलाई निर्देशन दिनका लागि सभामुखलाई हार्दिक अनुरोध गर्न चाहन्छु’, उनले भनेका थिए।

एक युवतीले आफू सन् २०१४ मा बलात्कृत भएको घटना सार्वजनिक गरेको सन्दर्भलाई जोड्दै थापाले त्यस किसिमको निर्देशनका लागि आग्रह गरेका हुन्।

‘हिजो साँझ घर जाँदाखेर श्रीमती र दुई वटा सानासाना छोरीहरु सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको एउटा भिडिओ, जसमा ८ वर्षअघि आफूलाई बलात्कार गरेको घटन उनले बताइरहेकी थिइन्, त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको, मेरो छोरी डराएको घटना म सम्झिरहेको छु’, थापाले आफ्नो विषय उठान गर्दै भनेका थिए।

उनले नेपाल सरकारलाई पनि विषय सार्वजनिक भइसकेको हुनाले अभियोग लागेको व्यक्तिलाई तत्कालै अनुसन्धानमा ल्याउन आग्रह गरेका छन्।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  २ : १३ बजे