Logo

समाचार

‘बेथान्चोकबासीको नेता हैन प्रतिनिधि भएर काम गर्नेछु’: तारा राना



काठमाडौं । गठबन्धनको तर्फबाट काभ्रेपलाञ्चोक जिल्लास्थित बेथान्चोक गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार तारा राना (तिमल्सिना)ले आफू नेता बनेर नभई बेथान्चोकबासीको प्रतिनिधि भएर काम गर्ने बताएकी छिन् ।

मंगलबार गठबन्धनले बेथान्चोक गाउँपालिकाको ढुंखर्कमा आयोजना गरेको सयुक्त चुनावीसभामा बोल्दै गठबन्धनअन्तर्गत माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्ष उम्मेदवार बनेकी रानाले विजयी भएपछि आफू बेथान्चोकबासीको प्रतिनिधि भएका काम गर्ने प्रतिबद्दता जनाएकी हुन् ।

ताराले प्रतिबद्दतापत्रमा बेथान्चोकबासीलाई प्रभावित पार्ने ठूला ठूला महत्वाकांक्षी योजनाहरु नसमेटेको उल्लेख गर्दै जनताका आवश्यकता र पुरा गर्न सक्ने मात्रै आफूले प्रतिबद्दतापत्रमा समेटेको बताइन् ।

प्रतिबद्दतापत्रमा समावेश गरिएका योजनाहरुलाई स्थानीय अग्रज राजनीतिज्ञहरु, विज्ञहरु र बेथान्चोकबासीको सल्लाह सुझाव र सहयोगमा अगाडी बढाउने उनको भनाई थियो ।

रानाले आफू गाउँपालिकालाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन प्राथमिकताका साथ अगाडी बढ्ने प्रतिबद्दता पनि जनाईन् । विजयी भएर आएपछि सबैभन्दा पहिला ढुंखर्कमा देखिएको ढलको समस्या र बसपार्कको समस्यालाई समाधान गरिने पनि रानाले बताइन् ।

यस्तै, उनले महिला र युवा लक्षित कार्यक्रम गाउँगाउँमा पुर्याएर युवालाई रोजगारी दिने कुरालाई आफूले प्राथमिकता दिने उनको भनाई थियो ।

बेथान्चोकको अध्यक्षको उम्मेदवार गठबन्धनकै प्रमुख दल नेपाली कांग्रेसबाट भगवान अधिकारी रहेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : ५२ बजे