Logo

Breaking News 1

देउवाको अपीलः अरु कुरा गर्छन्, हामी काम गर्छों



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज मंगलबार एक अपील जारी गर्दै ‘अरुले कुरा गर्छन्, हामी काम गर्छों’ भन्दै भोट मागेका छन् ।

देउवाले कांग्रेसलाई भोट माग्दै आफूहरु जे भन्छौं त्यो पूरा गरेर छाड्ने बताएका छन् । देउवाले अपीलमा कांग्रेसले जे भन्छ त्यो पूरा गर्ने र मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा नपार्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयनमा फेरि एकपटक ईटा थप्ने अवसर कांग्रेसलाई प्राप्त भएको भन्दै देउवाले स्थानीय तह निर्वाचनमा मत व्यक्त गर्दा ध्यान दिन मतदातालाई अपिल गरेका छन् । लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि उपयुक्त पात्रलाई राजनीतिको बागडोर जिम्मा लगाउने अधिकार मतदाताको हातमा आएको उनको भनाइ छ । ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’ । ‘सबल स्थानीय सरकार: समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो’ देउवाले भनेका छन् ।

उनले संविधान सभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दा कांग्रेसले संविधानको रक्षा गरेको दावी गरे । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको भन्दै देउवाले भने, ‘यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे तपाईं हामी सबै जानकार नै छौं ।’
कांग्रेस सभापति देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि सुसंस्कारयुक्त राजनीतिक बागडोरको जिम्मा दिन आग्रह गरेका हुन् ।

विज्ञप्ति मार्फत देउवाले संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन र अधिनायकवादी शैली प्रदर्शन हुँदा कांग्रेसकै नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको दावी गरेका छन् ।

‘नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दैगर्दा नेपाली कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम तपाईं हाम्रासामु छर्लङ्ग छ । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे तपाईं हामी सबै जानकार नै छौं’, देउवाले भनेका छन् ।

स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार रहेको भन्दै कांग्रेसले विकास र स्थिरताको प्रतिबद्धतासमेत व्यक्त गरेको छ । ‘नेपाली कांग्रेस एउटा राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमानदार अठोट, सूचना–ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिबद्ध छ । कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवर्द्धन, जलविद्युतको उत्पादन, पूर्वाधार विकास, रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेलगायतका सङ्कल्प नेपाली कांग्रेसले लिएको छ’, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस, देउवाको अपीलः

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : ५९ बजे