Logo

Breaking News 1

एमालेले कुनै चुनाव जित्न हुँदैन, नत्र संसद भंग हुन्छ, कुनै निकाय चल्न दिंदैनः देउवा



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले कुनै पनि चुनाव जित्न नहुने बताएका छन् । एमालेले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने र कुनै निकाय नै नचल्ने देउवाले दाबी गरे ।

सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन सत्तारुढ गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताए ।
उनले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । ‘सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र माधवजीको पार्टीका मान्छेहरु सहभागी छन् । अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ,’ देउवाले भने, ‘ त्‍यसकारण गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउनुस् ।’
उनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगरिने बताउँदै फिर्ता नलिए कारवाही गर्ने समेत बताए ।
देउवाले नेकपा एमालेले चुनाव जिते फेरि संसद भङ्ग हुन सक्ने जिकिर गरे । उनले एमाले विजयी भएको अवस्थामा प्रतिनिधिसभा मात्रै नभएर प्रदेश र स्थानीय तह नै भङ्ग गर्न सक्ने बताएका थिए ।

‘ओलीजीको पार्टीलाई जिताउने भनेको संसद भङ्ग गर्न दिनु हो । त्यस्तो व्यक्तिलाई संसदमा ल्याउन हुन्न। एमालेमा ओलीले सबैलाई थर्काएर राखेका छन्’, उनले भने, ‘एमालेले जितेको खण्डमा संसद, प्रदेश, स्थानीय तह भङ्ग गर्न सक्छन् । त्यसैले कांग्रेस र तालमेल भएका ठाउँमा गठबन्धनलाई जिताउनुहोस् ।’

उनले अघिल्लो पटक पनि प्रनिनिधिसभा विघटन गरेरपछि आफूहरुले पुनःस्थापना गरेको बताए । ‘ओलीले दुई पटक संसद भङ्ग गरे। हामीले अदालतबाट फिर्ता ल्यायौं । तर पनि एमालेले चल्न दिएको छैन। एमालेलाई जिताएर के गर्ने ? संसद भङ्ग गर्न दिने ?’, उनले प्रश्न गरे ।

उनले एमालेमा ओलीभन्दा अर्को नेता नभएको समेत बताए । अहिलेको आवश्यकता गठबन्धन बलियो बनाउनु रहेको देउवाको भनाइ छ । उनले भने, ‘सबै ठाउँबाट ल्याएर हामीले गठबन्धनको सरकार बनाएका छौं । यो सरकार बलियो बनाउन पनि गठबन्धन बलियो बनाउनु पर्छ ।’

देउवाले बागी उम्मेदवारहरूलाई फिर्ता लिन समेत निर्देशन दिए । माथिबाट आदेश ढिलो आएको होला । ‘आधिकारिक उम्मेदवार बाहेकका उम्मेदवारहरूले फिर्ता लिइयोस्’, उनले भने, ‘मैले अहिल्यै भन्छु, बागी उम्मेदवारलाई मान्य दिने छैन । पहिले पनि बागी उम्मेदवारका कारण कांग्रस हारेको हो । अहिले पनि हारेपछि कुनै पनि हालतमा माफी दिनेवाला छैनौं ।’

उनले कैलारी र जोशीपुरमा समस्या रहेको संकेत गर्दै बागी उम्मेदवारहरूलाई वक्तव्य जारी गरेर भए पनि फिर्ता लिन आग्रह गरेका थिए । सुदूरपश्चिमकै भएका कारण आफू प्रधानमन्त्री भएको देउवाको भनाइ थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ४ : २२ बजे