Logo

संवाद

मादीलाई विकासको नमूना बनाउछौँ : उपाध्यक्षका उम्मेदवार गुरुङ



वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा कास्कीको मादी गाउँपालिकामा सत्तारुढ दलहरुबीचको गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का युवा नेता लालबहादुर गुरुङ उपाध्यक्षका उम्मेदवार हुन् । उनी मादी–७ को निर्वतमान वडाध्यक्ष र गाउँपालिकाको प्रवक्ता समेत हुन् ।

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सदस्यसमेत रेहेका गुरुङ गठबन्धनको साझा उम्मेदवारका रुपमा यतिबेला चुनावी मैदानमा होमिएका छन् । विद्यार्थीकालमा अखिल (क्रान्तिकारी) मा आवद्ध भएर राजनीति सुरु गरेका गुरुङले स्थानीय तह गठनअघि माओवादीबाट जिल्ला विकास समितिमा संयन्त्रको सदस्य भएर समेत काम गरे । मादीमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका विकासमा काममा डेढ दशकको समय खर्चिएका उपाध्यक्षका उम्मेदवार गुरुङसँग गरिएको कुराकानी ।

गठबन्धनबाट मादीमा उपाध्यक्षको साझा उम्मेदवार हुनुहुन्छ । चुनाव प्रचार कस्तो भइरहेको छ ?

जसरी कृषकहरुलाई असारमा धान रोप्ने र मंसिरमा धान धन्काउने चटारो हुन्छ, त्यसैगरी अहिले हामी उम्मेदवार र राजनीतिक दलहरुलाई समेत त्यस्तै भएको छ । सबै पार्टीलाई जनतामाझ जाने, चिनाउने, मत माग्ने र मादीको समृद्धि र उन्नतिमा लाग्न विजयी गराउन जनतामाझ जुटेका छौँ ।

गठबन्धन गरेर निर्वाचनमा होमिनु भएको छ, जनताको प्रतिक्रिया कस्तो पाउनु भयो ?

हाम्रो गठबन्धनलाई जनताले सकारात्मक रुपमा लिएका छन् । देशलाई संकट पर्दा जहिले पनि कम्युनिष्ट र काँग्रेस एक ठाउँमा रहेको अवस्था छ । गणतन्त्र, संविधान र संघीयता ल्याउन काँग्रेस कम्युनिष्ट मिलेको अवस्था छ । जसरी केन्द्रमा देश र संविधान बचाउन दुई वटा शक्ति मिलेका छन्, त्यसैगरी मादी गाउँपालिकालाई पनि विकासको अब्बल र नमूना पालिका बनाउन हामी दुई वटा शक्ति मिलेर अघि बढेका छन् । जनताबाट अपार माया र समर्थन मिलेको छ । गठबन्धनप्रति जनताको विश्वास छ ।

मादीमा भएको स्रोत साधनको सही प्रयोग, यहाँका खोलानाला, पर्यटकीयस्थल बेचिने अवस्था आएको छ, त्यसलाई रोक्ने र मादीका जनतालाई खुशी बनाउनका लागि अहिलेको गठबन्धन बनेको हो । हामी पाँच वर्ष कुर्सीमा बस्नका लागि र एउटा व्यक्तिलाई जिताउनका लागि गठबन्धन गरेका होइनौँ । परिवर्तन चाहने, मादीलाई विकासको नमूना बनाउन चाहने दलहरु एक भएको मात्र हो । गठबन्धन तलसम्म मिलेर गएको छ ।

तपाईहरुका चुनावी प्रतिवद्धता के छन् ?

मादी नदी १ देखि १२ सम्म बगेको छ । जलस्रोतमा नदी छ । नेपालको पानी जनताको लगानी भन्ने सरकारको नारा भएपनि जनताले अधिकार पाएका छैनन् । जनताको पहुँच पुग्न सकेको छैन । हामीले जलस्रोतबाट अधिकतम लाभ लिएर पालिकालाई समृद्ध बनाउने योजना अघि सारेका छौँ ।

यसैगरी हाम्रो पालिका प्रकृति, संस्कृति र पर्यटनमा अग्रस्थानमा रहेको छ । संस्कृति र प्रकृतिले साथ दिएको छ । यसको विकासमा सही ढंगले योजना बनाएर अघि जाँदा मादीमा समृद्धि ल्याउन सकिन्छ । जनतालाई सडक पूर्वाधार, स्वास्थ्य, शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने, भौगोलिक रुपमा दुई भेगमा बाँडिएको मादीका जनतालाई सहज स्वास्थ्य उपचार सेवा पुर्‍याउने योजना छ ।

जनतालाई सहज उपचार सेवा दिने, स्वास्थ्यलाई जनताको पहुँचमा लैजाने, सडक, पुल, सिँचाई लगायतका योजना जनताका माझ लाने, कृषिलाई बजारीकरण, कृषि एम्बुलेन्स, जनतालाई उत्पादनमा लाने योजना हाम्रा छन् । पालिकालाई भ्रष्टाचार शुन्य बनाउँदै सुशासन कायम गर्ने, मुस्कानसहितको सेवा दिेने, गरिब, निमुखा जनतालाई करमा छुट दिने, बाढीपीडित र दैवीप्रकोप पीडितलाई उचित व्यवस्थापन गर्ने योजना अघि सारेका छौँ । जनताको मुहारमा खुःशी ल्याउने योजना हाम्रो गठबन्धनको छ ।

मादीको निर्वतमान वडाध्यक्ष समेत हुनुहुन्छ । कार्यकाल कस्तो रह्यो ?

मादी–७ को वडाध्यक्ष र गाउँपालिकाको प्रवक्ता भएर जिम्मेवारी पूरा गर्ने अवसर मिल्यो । यसबीचमा गाउँपालिका केन्द्र तोक्न सकिएन । यसमा मुख्य नेतृत्वले बढी आत्मालोचना गर्नुपर्दछ । हामी पनि आलोचित हुन्छौँ । मादी ७ मा एक घर एक धारा बनाएका छ । टोल टोल बस्ती बस्तीमा सडक पुगेको छ । विद्यालयहरुमा स्मार्ट शौचालय, विज्ञान प्रयोगशाला, पोसाक वितरण, गरीब विद्यार्थीलाई होस्टल व्यवस्था गर्‍यौँ ।

हाम्रो वडामा हस्पिटल बन्दै छ । वडा कार्यालय,स्वास्थ्य चौकी बनेको छ । महिला, दलितको सशक्तिकरणमा काम गर्न सफल भयौँ । कृषिको आधुनिकीकरण र यान्त्रीकरण गर्न सफल भयौँ । तरकारी पकेट बनेका छन् । आय आर्जनका क्षेत्रमा काम गरेका छौँ । सिक्लेस जाने बाटो धाकसम्म पिच बनेको छ । विजयपुर खोलामा मोटरेवल पुल बनाएका छौँ । मध्यपहाडी राजमार्गको एलाइनमेन्ट मादी–७ हुँदै पोखरा लैजाने गरी परिवर्तन गरेका छौँ ।

केन्द्रीय उर्जा मन्त्रालयबाट मादी नदीको पानी तानेर सिँचाईको योजना बनाएका छौँ । जनता सबै खुःशी छन् । म पनि खुशी छु । अब आगामी कार्यकालमा गाउँपालिकाको उपाध्यक्ष भएपछि अधुरा योजना अघि बढाउने बढाउने र समग्र मादीको उन्नति र विकासमा लाग्ने छु । जनताको भावना बुझ्दा विजयी हुन्छु भन्ने लागेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ९ : ३८ बजे