जनकपुर । जनकपुरधामका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ ।
केन्द्र सरकारको टोलीले साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो ।
शनिबारदेखि पहिलो चरणमा सातवटा पोखरीहरुको डिलमा बनाइएका अनाधिकृत संरचनाहरु तोड्न सुरु गरिएको हो । पहिलो चरणमा कच्ची, आंशिक र पक्की मिलाएर जम्मा ६५ वटा अनाधिकृत रुपमा निर्माण गरिएको संरचनाहरु तोड्न लागिएको प्रतिवेदन कार्यान्वय समतिको सदस्य सचिव जनक पोखरेलले जानकारी दिए ।
शनिबार गोरधोई पोखरी, बिसहरा पोखरी, रत्नसागर पोखरीलगायतका जम्मा सातवटा पोखरी वरिपरिका संरचनाहरु हटाइने पोखरेलले बताए ।
२०६२ सालको प्रतिवेदन अनुसार जम्मा ४९ वटा पोखरीको छेउछाउमा अतिक्रमण गरेर घर टहरा निर्माण गरिएको छ ।
आज पश्चात क्रमश ती अतिक्रमित संरचनाहरु हटाउने कार्य जारी रहने पोखरेलको भनाई छ ।
पोखरीका संरचनाहरु अतिक्रमणमुक्त भइसकेपछि दोस्रो चरणमा मन्दिर परिसरलगायतका अन्य स्थानहरुमा अतिक्रमण गरेर बनाइएका संरचनाहरु हटाइने उनले जानकारी दिए ।








प्रतिक्रिया