Logo

समाचार

निर्वाचन आचारसंहितालाई लात हान्दै चुनावी प्रचारमा प्रधानमन्त्री देउवा

‘सरकारी अंग वा अधिकारीहरूले आफैं उम्मेदवार भएको खण्डमा बाहेक प्रचारप्रसार गर्न नपाउने’ आचारसंहितामा उल्लेख छ ।



बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् । शनिबार रूपन्देहीको बुटवल र तनहुँ पुग्न देउवाले नेपाली सेनाको एनए ०५८ हेलिकोप्टर प्रयोग गरेका छन् । सेनाको हेलिकोप्टर ८ सिट क्षमताको हो । हेलिकोप्टरमा देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता प्रकाशशरण महत पनि सवार थिए ।

स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ को दफा ४ क मा ‘कुनै सार्वजनिक निकाय वा परियोजनाका स्रोतसाधन तथा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने’ उल्लेख छ । तर, प्रधानमन्त्रीले उक्त दफाविपरीत नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका हुन् । बुटवलको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शनिबार बिहान पौने १२ बजे बुटवलस्थित नेपाली सेनाको २२ नं. वाहिनीमा उत्रिएका थिए । त्यहाँ उनलाई गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणसहितका स्थानीय नेता र सुरक्षाकर्मीले स्वागत गरे । प्रधानमन्त्री देउवा सेनाको हेलिकोप्टरबाट उत्रिएफछि कार्यक्रमस्थलसम्म जान स्थानीय कार्यकर्ताको सेतो कलरको ल्यान्डत्रुजर गाडी चढेर थिए । कार्यक्रममा झन्डै १ घण्टा बिताएका उनले ८ मिनेट भाषण गरे र त्यही हेलिकोप्टरमा तनहुँ पुगे ।

निर्वाचन आचारसंहिताले सरकारका अधिकारी र स्थानीय तहमा राजीनामा नदिएका जनप्रतिनिधि आफू उम्मेदवार भएको अवस्थामा बाहेक अन्य अवस्थामा दलको चुनाव प्रचारप्रसारमा सहभागी हुन पनि रोक लगाएको छ । आचारसंहितामा ‘सरकारी अंग वा अधिकारीहरूले आफैं उम्मेदवार भएको खण्डमा बाहेक प्रचारप्रसार गर्न नपाउने’ पनि उल्लेख छ । तर, देउवाले बुटवलमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ‘गठबन्धनका उम्मेदवारले नजिते प्रजातन्त्र संकटमा पर्ने’’ बताए । प्रजातन्त्रको रक्षा र गणतन्त्रको पूर्ण कार्यान्वयनका लागि गठबन्धन बनेको र त्यसका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । ‘प्रजातन्त्रको भविष्यका लागि स्थायी रूपमा कसैले शंका गर्न नसक्ने ठाउँमा ल्याउन अहिलेको गठबन्धन बनेको हो,’ उनले भने, ‘त्यसैले गठबन्धनका सबै उम्मेदवारले जितेनन् भने प्रजातन्त्र पनि संकटमा पर्छ ।’

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्यन्तै ठूलो अत्याचारका कारण पनि गठबन्धन जन्मिएको बताए ।

सभामा सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले पनि गठबन्धनका दलहरूको पक्षमा मत मागेकी थिइन् । झाँक्री पनि तीन दिन गृहजिल्ला गुल्मीको चुनावी प्रचारप्रसारमा सहभागी भएर शनिबार बुटवल आएकी हुन् । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डे प्रमुख र नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङ उपप्रमुखका उम्मेदवार छन् । बुटवल उपमहानगरपालिकामा एमाले र गठबन्धनबीच तीव्र प्रतिस्पर्धा छ । मत तान्न केन्द्रीय नेताको दौडधुप बढेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ४२ बजे