Logo

Breaking News 1

नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हरायो



काठमाडौं । जिम्बाब्बे ‘ए’ विरुद्धको एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बावे ए सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेर पहिला बलिङ गरेको नेपालले जिम्बावे ए लाई ३१।५ ओभरमा अलआउट गराएको थियो ।

पहिला ब्याटिङ गरेको जिम्बावेले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो । जिम्बावे ए ले दिएको लक्ष्य नेपाले ११।२ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रनको योगदान गरे । उनले ३८ बल खेल्दै ६ चौका प्रहार गरे । यस्तै, आसिफ शेखले ३४ बलमा ६ चौकासहित ३४ रनको अविजित इनिङ खेले । उनले पहिलो विकेटका लागि सुनिलसँग ७९ रनको साझेदारी गरेका थिए ।

विनोद भण्डारी ४ रनमा अविजित रहे । जिम्बावे ए का बलर ब्रान्डन माभुटाले एक विकेट लिए । यसअघि, पहिलो बलमै ओपनर इन्नोसेन्ट कियालाई गुमाएको जिम्बावेका लागि जोनाथान काम्पवेलले सर्वाधिक २७ रन, ब्राड इभान्स २० र चेफास जुवावो १० बाहेक कुनै पनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

नेपालको बलिङमा करण केसी र सोमपाल कामीले सर्वाधिक तीन तीन विकेट लिए । भने, सागर ढकाल १ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

पहिलो खेलमा नेपाल जिम्बावे ‘ए’ सँग तीन विकेटले पराजित भएको थियो । तीन खेलको एक दिवसीय श्रृङखलको अन्तिम खेलमा नेपालले सोमबार जिम्बावेको सामना गर्नेछ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १ : ५१ बजे