Logo

समाचार

माओवादीको ज्यान मार्ने धम्कीपछि गाउँपालिका अध्यक्षबाट उम्मेदवारी फिर्ता लिएर भूमिगत



काठमाडौं । माओवादीले ज्यान मार्ने धम्की दिएपछि रुकुम पूर्वको एक गाउँपालिकाका अध्यक्ष उम्मेदवार उम्मेदवारी नै फिर्ता लिएर भूमिगत भएका छन् ।

रुकुम पूर्वको भुमे गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका भीम वली उम्मेदवारी फिर्ता लिएर भूमिगत भएका हुन् । वलीले नेकपा माओवादी केन्द्र परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेर पालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन गरेर जाने सहमति भएको थियो । जसअनुसार पालिका अध्यक्षमा माओवादीबाट कांग्रेसमा प्रवेश गरेका वली उम्मेदवार बनेका थिए भने उपाध्यक्ष एमालेले पाएको थियो ।

तर, माओवादीले वली र उनको परिवारको ज्यान मार्नेसम्मको धम्की दिएपछि उनी त्रासका कारण उम्मेदवारी फिर्ता लिएर भूमिगत भएको स्रोतले जानकारी दिएको छ ।

माओवादीले वलीलाई लागुऔषधमा फसाएर पक्राउ गर्नेसम्मको योजना बुनेको आरोप कांग्रेसले लगाएको छ ।

त्रासका कारण अहिले वली भूमिगत रहेको र उनको अवस्थाको बारेमा यकिन जानकारीसमेत पाउन नसकेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : २७ बजे