Logo

धर्म / संस्कृति

सकियो रमजान, आज ईदः दुई वर्पछि हर्षोल्लासका साथ मनाइँदै



भैरहवा । कोभिड महामारीका कारण प्रभावित बनेको ईद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन् । समुहमा मनाइने पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन ।

यो वर्ष कोभिड सामान्य भएसँगै आज एक आपसमा खुसी साटासाट गरी ईद (इदुलफित्र) देश विदेशमा मनाइँदैछ ।

ईद मुस्लिम समुदायको पवित्र महिना तथा कुरआन अवतरण भएको महिना रमजान (रोजा) सकिएपछि मनाइने पर्व हो । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट अर्थात् आज यो पर्व मनाउने गरिन्छ ।

३० दिन रोजा बसेर सोमबारको सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि मनाइँदै छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

भैरहवा क्षेत्रका मुस्लिम स्थानीय गल्लामण्डीको इदगाहमा बिहान साढे ८ वजे र बसडीलियामा रहेको इदगाहमा बिहान ९ बजे जम्मा भएर सामूहिक नमाज पढी मनाउँदै छन् ।

ईदको दिन बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई इदगाह (नमाज पढ्न बनाइएको विशेष खुला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढिन्छ । सो पश्चात एकआपसमा गला मिलाएर इद मुबारक भन्दै एकआपसमा शुभकामना साटासाट गर्ने नमाजपछि ईदको विशेष परिकार सेवईका साथै अन्य मिठाइका परिकार र खानेकुरा खाएर शुभकामनासहित पाहुनालाई स्वागत गर्छन् ।

विपन्‍न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुशी पार्नु पर्ने यो चाडको प्रमुख विशेषता हो । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ । इदको नमाज पढ्नु अघि रमजानमै प्रत्येक मुसलमानले जनही १ किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आम्दानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा अनिवार्य दिनुपर्ने मान्यता छ ।

फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दा अगावै निकाली सक्नुपर्छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ६ : ३७ बजे