Logo

मुख्य समाचार

कोशीमा विद्युत् खपत बढाउन विशेष कार्यक्रम बनाउन ऊर्जामन्त्रीको निर्देशन



विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले औद्योगिक र व्यावसायिक गतिविधिका हिसाबले महत्वपूर्ण कोशी प्रदेशमा विद्युत् खपत बढाउन विशेष कार्यक्रम बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

कोशी प्रदेशको विद्युत् वितरण प्रणालीको अवस्था, उपलब्धि र आगामी कार्यदिशाबारे विराटनगरमा आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले विद्युत् उत्पादन बढ्दै गएकाले अब आन्तरिक खपत विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले उद्योग, व्यवसाय र घरायसी क्षेत्रमा विद्युत् उपयोग बढाउन स्थानीय आवश्यकता अनुसार योजना बनाउनुपर्नेमा जोड दिए ।

उनले नागरिकले नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउने वातावरण बनाउन गुनासो तत्काल सम्बोधन गर्ने प्रणाली विकास गर्न निर्देशन दिए । ‘कामको मूल्याङ्कन बजेट खर्च वा पूर्वाधार निर्माणले होइन, नागरिकले नियमित विद्युत् पाए कि पाएनन् भन्ने आधारमा हुन्छ,‘ उनले भने ।

चालु आर्थिक वर्षमा प्रसारण तथा वितरण प्रणाली सुधारका लागि पर्याप्त बजेट विनियोजन भएको उल्लेख गर्दै उनले आर्थिक वर्षको अन्त्यमा मात्रै प्रगति खोज्ने प्रवृत्ति अन्त्य गरी सुरुदेखि नै आयोजना कार्यान्वयनलाई गति दिन आग्रह गरे । साथै, प्रादेशिक कार्यालयलाई दिइएको अधिकार र स्रोतको अधिकतम उपयोग गर्न पनि निर्देशन दिए ।

कोशीमा ११.३७ लाख ग्राहक, चुहावट ११.२१ प्रतिशत

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण कोशी प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यले प्रदेशका १४ जिल्लाका २४ वितरण शाखामार्फत ११ लाख ३७ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराइरहेको जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षमा कोशी प्रदेशमा २ हजार ४८.४१ गिगावाट घण्टा विद्युत् बिक्रीबाट १९ अर्ब २१ करोड रुपैयाँ आम्दानी भएको छ । प्रदेशमा विद्युत् चुहावट घटेर ११.२१ प्रतिशतमा पुगेको उनले बताए ।

आचार्यका अनुसार कावेली, कोशी तथा दुहबी–पाण्डाजुङ्गी–अनारमनी प्रसारण करिडोरमार्फत विद्युत् प्रणाली सञ्चालन भइरहेको छ । तीनवटा महत्वपूर्ण सबस्टेसन निर्माणाधीन छन् भने मोरङको लेटाङमा पोलमाउन्टेड प्रविधिको सबस्टेसन निर्माण सम्पन्न भएको छ, जसले वितरण प्रणालीको क्षमता र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  १० : १७ बजे