Logo

Breaking News 1

घुमाउरो पारामा कांग्रेस महामन्त्री शर्माले मागे अर्थमन्त्री शर्माको राजीनामा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।

शर्माले सामाजिक सञ्चालमार्फत अप्रत्यक्ष रुपमा राजीनामाको माग गरेका हुन् । ट्वीटरमा शर्माले पूर्व अर्थमन्त्री महेश आचार्यको उदाहारण प्रस्तुत गर्दै घुमाउरो पारामा राजीनामा दिन भनेका हुन् ।

महामन्त्री शर्माले आचार्यको तस्वीर राख्दै लेखेका छन्, ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्-नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति’, महामन्त्री शर्माले लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ । कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाईको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।’

२०५६ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेका बेला अर्थमन्त्री रहेका आचार्यले आफू अर्थमन्त्री हुँदा हटाइएका गभर्नर तिलक रावललाई सर्वोच्चले पुनर्वहाली गरेपछि राजीनामा दिएका थिए ।

अहिले पनि सरकारले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध जाँचबुझ समिति गठन गरेसँगै अधिकारी निलम्बनमा परेका थिए । सरकारको निर्णयविरुद्ध अधिकारी सर्वोच्च गए ।

मंगलबार सर्वोच्चले तत्काल अधिकारीमाथि कुनै कारबाही नगर्न भन्दै सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : २० बजे