Logo

Breaking News 1

माओवादीको सर्कुलर: केन्द्रको अनुमतिबिना गठबन्धन तोड्न नपाइने



काठमाडौं । नेकपा माओवादी केन्द्रले देशभर सर्कुलर जारी गरेको छ । सर्कुलरमा केन्द्रको अनुमतिबिना गठबन्धन तोड्न नपाउने उल्लेख गरिएको छ ।

यस्तै, स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक विशेष सर्कुलर जारी गर्दै विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन्।

सर्कुलरमा पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ । यस्तै स्थानीय तहमा केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ ।

महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम माओवादीको प्रदेश समितिहरूले सर्वसम्मत भए एकरएक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने छ। केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गर्ने छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : ४३ बजे