Logo

विशेष

राजधानीको काखमै रहेर पनि हराइरहेको बेथान्चोक नारायणस्थान



काठमाडौं । नजिकको तिर्थ हेला भने झैँ राजधानीबाट नजिक भएर पनि सोचे अनुरुप चर्चामा आउन नसकेको स्थान हो काभ्रेपलाञ्चोक जिल्ला बेथाञ्चोक गाउँपालिकामा रहेको बेथान्चोक नारायणथान ।

राजधानीबाट ५५ किलोमिटरको दूरीमा पर्ने महाभारत पर्वतहरुको राजा भनेर चिनिने बेथान्चोक नारायणस्थान समुन्द्री सतहबाट करिब ३ हजार १८ मिटरको उचाईमा रहेको छ ।

केही वर्षअघिसम्म ढुंखर्कबाट पैदल नै जानुपर्ने बाध्यता थियो भने अहिले माथिसम्म नै गाडीमा पनि जान सकिनेछ ।

हाइकिङ जानेहरुका लागि पनि यो स्थान अत्यन्तै उकृष्ट स्थल हो । पर्यटकहरु बिहानका सूर्योदय हेर्नका लागि रात नै बिताउने गरि जाने गरेका छन् । यो डाँडाबाट तराईका अधिकांश जिल्लाहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ ।

जंगल नै जंगलको बाटो उकालो लाग्नुपर्ने यो स्थान माथि पुगिसकेपछि भने खुला क्षेत्र रहेको छ । डाँडाको दायाँबाँया भने रिँगटा लाग्ने भिर देख्न सकिन्छ । यहाँको जंगलमा मात्रै १८ किसिमका लालीगुराँस पाइन्छ । डाँडाभरि ढकमक फुलेका गुराँस चिसो हावाको स्पर्शले पर्यटकहरुलाई स्वर्गिय आनन्द प्रदान गर्दछ ।

हिउँदको समयमा यो स्थानमा हिँउ समेत पर्दछ । हिउँ परेको बेलामा स्थानीय साथै बनेपा, पनौती, काठमाडौं लगायत स्थानबाटसमेत हिँउको मज्जा लिन पर्यटकहरु यहाँ आउने गरेका छन् ।

यहाँ बेथान्चोक नारायणको मन्दिर पनि रहेको छ । नयाँ वर्ष, फागु पूर्णिमामा यहाँ मेला नै लाग्ने गरेको छ । यहाँ आउने मानिसहरु घुम्न मात्रै नभई नाराणको पूजा तथा दर्शन गर्ने उदेश्यले पनि आउँने गरेका छन् ।

यहाँको जंगलमा सयौँ किसिमका जडिबुटी पाइन्छ । तर, स्थानीय सरकारको ध्यान नजाँदा बर्सेनि यस्ता जडिबुटी चोरी पैठारी हुने गरेको छ ।

राजधानीबाट नजिकै भएर पनि अझै ओझेलमै रहेको यो स्थानलाई स्थानीय सरकारले पर्यटकीय हवको रुपमा विकास गर्न सके यो स्थानले स्थानीयहरुको जिवनस्तर उकास्त तथा देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउन सक्नेमा दुई मत छैन ।

जैविक प्राकृतिक र धार्मिक पाटोबाट पनि उत्कृष्ट गन्तब्य रहेको बेथान्चोक नारायणस्थानको डाँडोमा शौचालय निर्माण तथा फोहोर व्यवस्थापनमा स्थानीय सरकारले शिघ्र ध्यान दिर्नुपर्ने आवश्यकता भने रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : ५३ बजे