काठमाडौं । दुई पटक बनाएको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले लिभरपुलसंग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।
आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले दुई पटक अग्रता बनाएको थियो । तर भ्रमणकारी टोली खेलमा फर्कन सफल भयो ।
सिटीको लागि केभिन डि ब्रुएन र ग्राबियल जिससले गोल गरे भने लिभरपुलको लागि डिएगो जोटा र साडियो मानेले गोल गरे ।
पाँचौं मिनेटमा डी ब्रुएनले सिटीलाई अग्रता दिलाए । १३औं मिनेटमा जोटाले बराबरी गोल गरे । ३६ औं मिनेटमा ग्राबियलले गोल गर्दा सिटीले पुनः २–१ को अग्रता बनायो । तर दोस्रो हाफ सुरु भए लगत्तै मानेले गोल गर्दै खेल २–२ को बराबरी ल्याए ।
बराबरीसँगै सिटीले ३१ खेलबाट ७४ अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेलबाट ७३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।
प्रतिक्रिया