Logo

Breaking News 1

ओली ज्यू, मुटु बिझाउनेगरि बोल्दा तपाईंको कद कति इञ्च बढ्यो ?



आजभन्दा ठिक दश बर्षअघि को–को व्यक्ति चर्चामा थिए, ठ्याक्कै भन्न सकिन्न । मानिसहरु हरेक बर्ष चर्चामा आउने र हराउने गर्छन् । तर, करिब २६ सय बर्षअघिका सिद्धार्थ गौतम बुद्धलाई आज पनि हामी ताजै रुपमा सम्झने गर्छौं । कारण थियो, उनको बोली । उनको बोली नरम र मिठास थियो । आफ्नो बोलीले अरुलाई बिझाउँछ कि भनेर बुद्ध सधैं सचेत हुन्थे । बुद्धले जिब्रोलाई तरवारसंग दाँजेर भनेका छन्,‘यसको चोट मानिसले कहिल्यै बिर्संदैन ।’

पुर्वप्रधानमन्त्री केपी शर्मा ओली ज्यू । तपाईं देशको सबैभन्दा ठुलो पार्टीको पनि अध्यक्ष हुनुहुन्छ । तीन पटक प्रधानमन्त्री हुनुभयो । जब तपाईं प्रधानमन्त्री र ठुलो पार्टीको अध्यक्ष हुनुभयो, धेरैले तपाईं माथि अभिभावकत्व देखेका थिए । तपाईं माथि भरोसा गर्नु कुनै राजनीति लेप थिएन । एउटा राजनीतिज्ञको हिसाबले तपाईंप्रति सबैको भरोसा पनि अडेको थियो । तर, अहिले तपाईं ती धेरैको मनबाट बाहिरिनु भएको छ ।

ओली ज्यू, कृपया तपाईं पुर्वप्रधानमन्त्री बनेर बोली दिनुस, स्वत तपाईंको कद बढ्नेछ । तपाईं यो देशको सबैभन्दा ठुलो दलको अध्यक्ष भएर बोली दिनुस, तपाईंप्रतिको आकर्षणको उचाई अझ माथि पुग्नेछ ।

तपाईं सिंगो देशको नेता बन्नुहुन्थ्यो । तर, अहिले एउटा पार्टीको र त्यो पार्टी भित्रको पनि समुहको नेतामा मात्र खुम्चनु भएको छ । हुन त, यी यावत सवालहरुले तपाईंलाई केहि फरक पार्ने छैन । यस्ता बिषयमा तपाईं आँफै धेरै जानकार हुनुहुन्छ । तर, पनि तपाईं के सोच्नुहुन्छ, त्यो अरुलाई थाहा हुँदैन । तपाईंले के भन्नुभयो, त्यो सबैलाई थाहा छ । के अहिलेसम्मका यी अभिव्यक्तिले तपाईंलाई उचाई बढेको लागेको छ ? एक पटक पुनरावृति गर्नुस त, तपाईंको कद बढ्यो कि घट्यो ?
कुनै मञ्चमा तपाईं बोल्नुहुन्छ, तपाईंका समर्थकहरु रमाई रमाई ताली पिट्छन् । फेरि, तपाईं भित्र उर्जा प्राप्त हुन्छ । फेरि, अर्को चोटिलो बिझाउने बाण हान्नुहुन्छ ।

श्री केपी शर्मा ओली ज्यू, यही, चैत–२६ गते शनिबार । तपाईं आफ्नो केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा भन्नुभयो,‘थुतुनोभरि रौं भएको मुसोले धान खायो ।’ तपाईंको यो भनाई कटाक्ष मात्र थिएन, प्रत्यक्ष रुपमा अर्थमन्त्री जनार्दन शर्मालाई बिझाउनेगरि बाण हान्नुभयो । किनकी, नाम नलिए पनि तपाईंले भनेका अर्थमन्त्री र गभर्नरका बाक्यले यो नबुझ्ने कुरै भएन ।

हामी नेपाली नश्ल, बर्ण, रुप, जात जस्ता बिषयका आधारमा भेद गर्दैनौं । कानुनमा पनि यो भेद गरेर व्यबहार गर्नु, अभिव्यक्ति दिनुलाई दण्डनीय मानेको छ । नश्लीय वा रुपको आधारमा गरिने खिस्सीट्युरी सामाजिक उत्पिडन हो । तपाईं यो देशको जिम्मेवार सम्हालिसकेको व्यक्तिले यस्ता अरुलाई बिझाउने शब्द प्रयोग गर्नु उचित होला ?

श्री केपी शर्मा ओली ज्यू, तपाईंमा बोल्ने कला राम्रो होला । तर, तपाईंका शब्दमा सहिष्णुता शुन्य छ । तपाईंमा भएको अनेकन गुणलाई यही असहिष्णुताले खर्लप्प खाइदिएको छ । यही, चैत ६ गते आइतबार । इलाम पुगेर तपाईंले आफ्नो पार्टी सभामा भन्नुभयो,‘कम्युनिष्टको खोल ओढेर कम्युनिष्टको सरकार ढाल्न लागे केहि अन्तरे, जन्तरेहरु ।’ यो झलनाथ खनालप्रति तपाईंको तुच्छ अभिव्यक्ति थियो । यो पनि कुनै कटाक्ष मात्र थिएन । यो शतप्रतिशत असहिष्णु पागलपन थियो । सुन्नेहरुले नबुझ्ने कुरै थिएन ।

२०७८ माघ १२, दाङ । तिल्के गोरुको सिंङ फुस्किसक्यो, फाँफाँ–फुँफुँ नगरे हुन्छ । यो सभामा तपाईंले नामै किटेर प्रचण्डलाई तिल्के गोरु भन्नुभयो । गोरु, अर्थात जनावर भनिदिनुभयो प्रचण्डलाई । यो कस्तो अभिव्यक्ति हो ?
‘२०७८ फागुन १७ । कहिले छोरी बोक्या छ, कहिले बाउ बोक्या छ ! कांग्रेसप्रति कटाक्ष गर्दै प्रचण्ड र उनको छोरी रेनु दाहालप्रति लक्षित अभिव्यक्ति ।’ ‘२०७८ फागुन २३ गते सोमबार । संसारका स्यालहरु मिलेर एमाले सरकार ढलाए ।’ ‘२०७७ साल पुस १८ । प्रचण्ड र माधब नेपाल भेट्नु कुहिएर झरेका फल !’ ‘२०७८ चैत ५ गते । माधब नेपालप्रति लक्षित गर्दै, ‘हामीले दिएको झुम्की बुलाकी फुकाल्नु पर्देन ?’ ‘२०७७ फागुन २० गते । ‘केहि पिलो निचोरिएर गए, ठिक भयो, प्रचण्ड र माधब नेपालप्रति लक्षित ।’ ‘२०७८ चैत १ गते । ‘तथाकथित बुद्धिजीवी ।, आफ्नै पार्टीका नेता घनश्याम भुसालप्रतिको बाण ।’
‘२०७८ फागुन २७ गते । ‘सर्बोच्च अदालतमा गोरुले गठबन्धन रुपी पाँचवटा बाच्छा जन्मायो । सत्ता गठबन्धन दलहरुप्रतिको रोष !’ ‘२०७८ असार ११ गते । ‘अघिल्लै दिन धादिङमा स्याल करायो । प्रचण्डलाई स्यालको संज्ञा !’ ‘२०७८ फागुन २४ गते । हाडिघोप्टेको पार्टी समाजबादी ।’माधब नेपालप्रतिको क्लेश !’

एमाले अध्यक्ष श्री, केपी शर्मा ओली ज्यू,

अन्तमा, सहिष्णु बनेर व्यक्तिको कद घट्ने होइन, बढ्ने हो । यो कुरा हामी नागरिकहरुलाई भन्दा तपाईंलाई बढी जानकारी छ । तर, सबै धेरै कुरामा केहि न केहि जानकार भएरपनि किन यति असहिष्णु बनेर समाज र मुलुकलाई दुर्गन्धित बनाउनुहुन्छ ?

पुर्वप्रधानमन्त्री, श्री केपी शर्मा ओली ज्यू । तपाईंका यस्ता सयौं अभिव्यक्ति छन्, जस्ले तपाईंको व्यक्तित्वको कदलाई झन पुड्को सावित गरिदिएको छ । तपाईंले कसैलाई गोरु, कसैलाई स्याल आदि के के हो के के भनेर गाली गर्दा कहिल्यै पश्चाताप गर्नु भएको छ कि छैन ? यदि पश्चाताप गर्नु भएको छैन भने तपाईंभित्र मानव गुण रित्तिएको मान्नुपर्छ ।

ओली ज्यू, तपाईंका बोली समाजमा सजिलै फैलिन्छन् । किनकी, तपाईं यो देशको जिम्मेवार सम्हालिसकेको पुर्वप्रधानमन्त्री हो । तर, तपाईंले बोल्ने बोलीले कस्तो सभ्यता निर्माण गर्ला ? यस्तो अभिव्यक्तिले बालबालिकामा कस्तो असर पर्छ भन्ने सोच्नुभएको छ ?

के छुद्र बोली शक्तिशाली हुन्छ ? छुद्र बोली त सबैभन्दा कमजोर व्यक्तिको गुण हो । यो सदियौंदेखि बर्तमानसम्मका घटनाक्रमहरुले पुष्टि गरिसकेका छन् ।

तपाईं बिपक्षीलाई आलोचना गर्न स्वतन्त्र हुनुहुन्छ । यो राजनीति अधिकार हो । तर, व्यक्तिका रुपका आधारमा, परिवारका बारेमा, शरिरका अंगका आधारमा, बर्णका आधारमा, जुँगाका आधारमा साथै जनावरसंग तुलना गरेर वा अत्यन्त निच शब्द खोजेर किन सत्तोसराप गर्नुहुन्छ ?

केहि दिनअघि तपाईंले एउटा कार्यक्रममा भन्नुभएको थियो, यो सरकार फतक्कै झरी जाओस ।’ यस्ता कडा खालका गालीजन्य शब्द प्रयोग गरेर के तपाईंको व्यक्तित्वमा बढोत्तरी आयो त ? होइन, तपाईंलाई यसले शुन्यमा झारिदिएको छ । हुन त तपाईंले कुनैबेला अहिलेका तपाईंका पार्टीका सचिब योगेश भट्टराईलाई कटाक्ष गर्दै ‘बैगुनी केटो’ भनेर तुुच्छता प्रदर्शन गरिसक्नु भएको थियो । अब, बिपक्षी पार्टीलाई गर्ने गाली र सरापको त कुरै नगरौं ।

एमाले अध्यक्ष श्री, केपी शर्मा ओली ज्यू,
अन्तमा, सहिष्णु बनेर व्यक्तिको कद घट्ने होइन, बढ्ने हो । यो कुरा हामी नागरिकहरुलाई भन्दा तपाईंलाई बढी जानकारी छ । तर, सबै धेरै कुरामा केहि न केहि जानकार भएरपनि किन यति असहिष्णु बनेर समाज र मुलुकलाई दुर्गन्धित बनाउनुहुन्छ ? तपाईंले यो देशलाई ‘प्लस एक विन्दु योगदान’ दिने हो भने कृपया सहिष्णु बनिदिनुस । किनकी, अहिलेसम्म तपाईंको योगदान छुद्र बोलीका कारण शुन्य भन्दा तल झरी सकेको छ । हरेक देशमा नेता जन्मिन्छन् । नेतृत्वमा पुग्छन् । यो अति सामान्य कुरा हो । तर, उसले के गर्यो र कस्तो गुण थियो भन्ने तथ्यले ठुलो अर्थ राख्छ ।

ओली ज्यू । तपाईं देशको सबैभन्दा ठुलो पार्टीको पनि अध्यक्ष हुनुहुन्छ । तीन पटक प्रधानमन्त्री हुनुभयो । जब तपाईं प्रधानमन्त्री र ठुलो पार्टीको अध्यक्ष हुनुभयो, धेरैले तपाईं माथि अभिभावकत्व देखेका थिए । तपाईं माथि भरोसा गर्नु कुनै राजनीति लेप थिएन । एउटा राजनीतिज्ञको हिसाबले तपाईंप्रति सबैको भरोसा पनि अडेको थियो । तर, अहिले तपाईं ती धेरैको मनबाट बाहिरिनु भएको छ ।

चुनाव त आउँछन्, जान्छन्, तर, तपाईं जस्तो राजनीतिको उच्च पदमा पुगेको व्यक्तिले बोलेका शब्दहरु अरुका लागि प्रेरणा बन्न सकुन् । अरुलाई बिझ्ने शब्द होइन, तपाईंका शब्द अरुका लागि सिकाई बनुन् । तपाईंका भाषणले यी स–साना बालबालिकालाई पनि राजनीतिप्रति आर्कषित गर्न सक्ला । प्रधानमन्त्री पदप्रति सम्मानभाव जागेर आउला । सबैभन्दा बढी त तपाईंप्रति सबैको उच्चसम्मान जागृत होला ।

त्यसैले, ओली ज्यू, कृपया तपाईं पुर्वप्रधानमन्त्री बनेर बोली दिनुस, स्वत तपाईंको कद बढ्नेछ । तपाईं यो देशको सबैभन्दा ठुलो दलको अध्यक्ष भएर बोली दिनुस, तपाईंप्रतिको आकर्षणको उचाई अझ माथि पुग्नेछ । अझ महत्वपुर्ण कुरा, तपाईं यो देशको एउटा नागरिक भएर कसैलाई नबिझाउने बोली दिनुस, तपाईं हरेकका लागि प्रेरणादायिक पुर्वप्रधानमन्त्री बन्नुहुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : ३४ बजे