Logo

मुख्य समाचार

सत्ता गठबन्धन दलहरु सहकार्य गर्दै, प्रचण्डको गृह जिल्लामा सहमति



काठमाडौं । सत्ता गठबन्धनका दलहरु विभिन्न जिल्लामा सहकार्य गर्न कस्सिएका छन् । केहि महत्वपुर्ण जिल्लाहरुमा सहमति बनिसकेको छ । आज सोमबार पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको हो ।
सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।

सहमति पत्रमा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन् ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा गठबन्धनमा सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको उल्लेख छ ।
कांग्रेस चितवनका सभापति खनालको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार चितवनका सातवटै पालिकाहरुमा तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरिने छ । संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने छन् ।

दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै, रुपन्देही, नुवाकोट, झापा, मोरङ, काठमाडौं, कास्कीमा सहमति गर्न सत्ता गठबन्धन दलहरुको वैठक बसिरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : १६ बजे