Logo

मुख्य समाचार

९ पटक हेर्न नमिल्ने सूचीमा परेको रिटको सुनुवाइ आज हुँदै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का निलम्वित सांसद हरिनारायण रौनियारले सांसद पद फुकुवा हुनुपर्ने माग गर्दै दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेसी तोकिएको छ ।

रौनियार २० असोज, २०७७ मा सांसद पदबाट फुकुवाको माग गर्दै सर्वोच्च पुगेका हुन् । उनको रिटमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २२ असोज, २०७७ सालमा संघीय संसद् सचिवालयको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । र, रिटलाई अग्राधिकार दिने निर्णय गरेको थियो । त्यस यता सर्वोच्चले रिटको ९ पटक पेसी त तोक्यो तर हरेक पटक ‘हेर्न नमिल्ने’ सूचीमा राख्यो ।

पप्पु कन्स्ट्रक्सनका अध्यक्षसमेत रहका रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा १९ असोज, २०७५ मा दायर गरेपछि स्वतः निलम्वनमा परेका थिए ।

उनको निर्माण कम्पनीले देशभर पुलको ठेक्का अलपत्र पारेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले अनुसन्धानपछि मुद्दा दायर गरेको हो । २०७४ सालमा भएको संघीय निर्वाचनमा उनी पर्सा क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : ५६ बजे