Logo

खेलकुद

आईपीएलः गुजरातको लगातार दोस्रो जित



काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार दोस्रो जित हात पारेको छ । हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै जित हात पारेको हो ।

१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रनमा समेटियो । दिल्लीका विकेटकिपर तथा कप्तान ऋषभ पन्तले सर्वाधिक ४३ रन बनाए भने रोभम्यान पावेलले २० रनमा जो। ओपनर पृथ्वी श १०, टिम सिफर्ट ३, मनदीप सिंह १८ र ललित यादव २५ रनमा आउट भए ।

गुजरातका तीव्र गतिका बलर लोकी फर्गुसनले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिँदा हार्दिक पान्ड्या र राशिद खानले १–१ विकेट लिए ।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । ओपनर सुभमन गिलले ४६ बलमा सर्वाधिक ८४ रन बनाउँदा कप्तान हार्दिक पान्ड्याले ३१ रन आउट जोडे ।

ओपनर म्याथ्यु वेड १ रनमै क्याच भएका थिए । विजय शंकर १३ तथा डेविड मिलर २० र राहुल टेवाटिया १४ रन जोडे ।

दिल्लीका मुस्ताफिजुर रहमानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । खलिल अहमदले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले १ विकेट लिए ।

दिल्लीले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको थियो । तेस्रो खेल ७ अप्रिलमा लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ ।

गुजरातले पहिलो खेलमा लखनऊलाई ५ विकेटले हराएको थियो । गुजरातले ८ अप्रिलमा पन्जाबसँग खेल्नेछ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : १६ बजे