Logo

बागमती प्रदेश

फिर्के खोला अतिक्रमण रोक्न अख्तियारमा उजुरी



वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला अतिक्रमण रोक्न पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा उजुरी दिएको छ ।

पोखरा महानगरपालिका– १८ अँधेरी कुनादेखि सुरु भई वडा नं २, ४, ५, ८, ७, ६ हुँदै वडा नं १७ फेवातालमा समाहित हुने फिर्के खोलामा चरम अतिक्रमण गरी संरचना निर्माण भइरहेको र पटक–पटक जानकारी गराउँदा समेत यस विषयमा पोखरा महानगरपालिकाले गम्भीरतापूर्वक नलिएको व्यहोरा उल्लेख गरी आयोगमा उजुरी दिएको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

उनले भने, ‘हामीले यस विषयमा सम्बन्धित निकायलाई धेरै चोटी ध्यानाकर्षण गरायौँ तर सुनुवाइ भएन, त्यसैले अहिले अख्तियार कार्यालयको तर्फबाट तत्कालै रोक्का गरी आवश्यक छानबिन गरिपाँउ भनि उजुरी दिएका छौँ ।’ उनले मुहानबाट फेवातालसम्म व्यापक अतिक्रमण हुँदै गएको र कथित नयाँ प्रमाण देखाएर अद्यावधिक गरेको भन्दै लालपुर्जा देखाएको ‘राइट अफ वे’ पनि देखाउन नसकेका कारण यो रोक्न अख्तियार पुगेको बताए ।

प्राकृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गरेर अघि बढ्नुपर्ने निकाय नै यस विषयमा गम्भीर हुन नसक्दा अतिक्रमण बढ्दै प्राकृतिक सम्पदा नासिँदै गएको उनको भनाइ छ । पौडेलले सोही व्योहोराको निवेदन कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई पनि बुझाएर ध्यानाकर्षण गराएको जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले तत्काल अतिक्रमण रोक्नका लागि पोखरा महानगरपालिकालाई तथा यस कार्यमा आवश्यक समन्वय गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिसकेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ३ : ५४ बजे