Logo

समाचार

हातहतियार बुझाउन लमजुङ जिल्ला प्रशासनको आग्रह



लमजुङ । स्थानीय तह निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्येनजर गर्दै लमजुङ प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । ३० वैशाखमा हुने निर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको हो । प्रशासनले चैत्र मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो ।

निर्वाचनलाई भयरहीत, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना २०१९ को दफा ८ बमोजिम सो जिल्लाका विभिन्न व्यक्तिसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरिएको छ । इजाजत प्राप्त व्यक्तिले हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजना अन्तर्गत कारबाही हुने सूचनामा उल्लेख छ ।

स्थानीय तह निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता अपनाएको सुरक्षा समिति लमजुङले जनाएको छ । स्थानिय तह निर्वाचन नजिकिँदै गर्दासम्बन्धित निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थालाई विशेष ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

विभिन्न समूहले गर्ने निर्वाचन विरोधि गतिविधिप्रति पूर्वसतर्कता अपनाउन समग्र जिल्लाको सुरक्षा व्यवस्था विशेष योजनासहित कडाइ गरिने सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा १ हजार १ सयभन्दा बढी हतियार दर्ता भएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ९ : ३४ बजे