Logo

Breaking News 1

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, चुनावी तालमेलबारे छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा निर्णय लिन बैठक बस्न लागेको हो ।

उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेललगायतमा बैठकमा छलफल हुनेछ । उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने विधानको व्यवस्था छ । उम्मेदवार तय गरिसक्नु समयमा संसदीय समिति गठन गर्न बैठक बोलाइएको छ ।

बैठकमा सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा पनि छलफल हुनेछ । सभापति शेरबहादुर देउवा पक्ष चुनावी तालमेलको पक्षमा छ । नेता शेखर पक्ष देशभर घोषित तालमेल गर्न नहुनेमा अडिग छ । शेखर पक्षले विधान अनुसार टिकट वितरणको अधिकार सबन्धित संरचनालाई दिनुपर्ने तर्क राख्दै आएको छ ।

सभापति देउवाले अर्को पक्षसँग परामर्श नगरी भ्रातृ संस्थाको नेतृत्व चयन गरेको भन्दै शेखर समूह रुष्ट बनेको छ । उक्त विषयलाई पनि शेखर पक्षले बैठकमा उठाउने भएको छ । नेपाल विद्यार्थी संघको अध्यक्ष दुजाङ शेर्पा र तरुण दलको अध्यक्ष विद्वान गुरुङ मनोनीत गर्दा सभापतिले परामर्श नगरेको शेखर पक्षको दाबी छ ।

केन्द्रीय कार्यालय सानेपामा २ बजेदेखि बोलाइएको वैठक अघि शेखर पक्षका विद्यार्थीले विरोध प्रदर्शनसमेत गर्ने भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ४९ बजे