Logo

Breaking News 1

पूर्वडीआईजी कोइरालाको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै



काठमाडौं । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको कर्तव्य ज्यान मुद्दाको सुनुवाइ बिहीबार हुँदैछ ।

न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा सुनुवाइका लागि सर्वोच्चले मुद्दाको पेसी तोकेको छ ।

मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र सुनुवाइका लागि मुद्दा पेसीमा तोकिएको हो । १५ असार २०७७ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा रञ्जनको कैद सजाय घटाएको थियो ।

जबकी कोइराला भने डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका थिए । तर, प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसी रहेको संयुक्त इजालसले साढे आठ वर्ष मात्र कैद बसे पुग्ने भन्ने फैसला गरेको थियो ।

जन्मकैद सजाय तोकिँदा नाबालक छोराहरूको हेरचाह, संरक्षण एवं शिक्षादीक्षाका कार्यहरूमा अनिश्चितता र अन्योल हुने तथा सजाय चर्को पर्न जाने चित्तमा परेकाले घटाउनुपरेको फैसलामा भनिएको थियो ।

फैसला पीडकको पक्षमा आएको भन्दै न्यायिक वृत्तबाटै चर्को आलोचना भयो । त्यसपछि महान्यायाधिवक्ताको कार्यालयले १४ साउन २०७७ मा आदेशप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकन निवेदन सर्वोच्चमा दिएको थियो ।

निवेदनउपर सुनुवाइ हुँदा पुनरावलोकन हुने निर्णय सर्वोच्चले गरेको थियो । अब, मुद्दा सुरुवाती चरणदेखि नै अघि बढ्ने भएको छ ।

कोइराला २७ पुस २०६८ मा श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा यसअघि अदालतबाट दोषी ठहर भएका थिए । कोइरालाले ढकालको हत्या गरेर मकवानपुरको मेत्राङमा शव जलाएको खुलेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ११ : ३२ बजे