काठमाडौं । सूर्यदेवको उपासना र आराधना गरी मनाइने छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ। चार दिनसम्म मनाइने यस पर्वअन्तर्गत आज कार्तिक शुक्ल षष्ठीका दिन व्रतालुले निराहार व्रत बसेर जलाशय तथा नदी किनारमा सूर्यदेवको पूजा गरी अर्घ्य दिनेछन्।
शुक्रबारदेखि सुरु भएको छठ पर्वको पहिलो दिन व्रतालुले स्नान गरी शुद्ध भोजन गर्ने गर्छन्। दोस्रो दिन पञ्चमीमा सखर मिसाएर बनाइएको खीर अर्थात् खरना तयार गरी षष्ठी मातालाई चढाउने र प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। त्यसपछि व्रतालु निराहार व्रतमा बस्ने गर्छन्।
छठको मुख्य दिन षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिइन्छ। गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका अध्यक्ष अनिल सिंहका अनुसार व्रतालुले रातभर जाग्राम बसेर भोलिपल्ट बिहान सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन गर्नेछन्।
छठ पर्वमा सूर्यदेव र षष्ठी माताको पूजा गरे दुःख, दरिद्रता तथा रोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। यस पर्वमा ठकुवा, भुसुवा, फलफूललगायत प्रसाद सूर्यदेवलाई अर्पण गर्ने चलन छ।
महाभारत तथा विभिन्न पौराणिक ग्रन्थमा समेत छठ पर्वसँग सम्बन्धित प्रसङ्ग उल्लेख छन्। महाभारतमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफलताको कामना गर्दै सूर्यदेवको आराधना गरेको उल्लेख छ। त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको प्रसङ्ग पाइन्छ।
विगतमा तराईका सीमित क्षेत्रमा मात्र मनाइने छठ पर्व पछिल्लो समय देशभर विस्तार भएको छ। विशेषगरी काठमाडौं उपत्यकामा पनि छठ मनाउनेको सङ्ख्या बढ्दै गएको छ।
छठ पर्वका अवसरमा राजधानीका गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरी तथा वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा पूजाका लागि सजावट गरिएको छ।
चार दिनसम्म चल्ने यस पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत् रूपमा सम्पन्न हुनेछ।








प्रतिक्रिया