Logo

मुख्य समाचार

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, राति विशेष सतर्कता अपनाउन आग्रह


१४ कार्तिक २०८३, शुक्रबार  

0
Shares

काठमाडौं । पश्चिमी वायु र बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले सातै प्रदेशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा अन्य भूभागका धेरै स्थानमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।

राति पनि देशभर अधिकांश स्थानमा बादल लाग्ने र मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका थोरै स्थानमा भारी वर्षा तथा हिमपातको जोखिमसमेत रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार रातभर कोसीदेखि वाग्मतीसम्मका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । मध्यरातपछि लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भागमा समेत वर्षा सुरु भएको छ ।

उनका अनुसार आज दिनभर यस्तै वर्षा जारी रहने सम्भावना छ । तर, अपराह्न वा साँझदेखि पूर्वी नेपालको आधा भूभागमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । विशेषगरी रातिको समयमा ठूलो पानी पर्न सक्ने भएकाले थप सजग रहनुपर्ने मौसमविद् पोखरेलले बताएका छ

प्रकाशित मिति : १४ कार्तिक २०८३, शुक्रबार  ६ : १४ बजे