काठमाडौं । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका छन् ।
आइतबारदेखि काठमाडौंमा सुरु भएको कांग्रेसको १५ औं महाधिवेशनमा सहभागी हुन आइपुगेका खड्काले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।
उनले युवाहरुले भरिएको पार्टी नेतृत्वले सबै नेताहरुलाई समेटेर लानुपर्ने भन्दै तल्लो तहसम्म पार्टीभित्र एकता आवश्यक रहेको बताए ।
कोशी प्रदेशमा देउवा समूहको बलियो नेताका रुपमा स्थापित खड्काले उक्त समूहबाट अलग हुँदै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । पार्टी विभाजनलाई नयाँ नेतृत्वले मिलाएर लानसक्ने अपेक्षासहित आफू केन्द्रीय समितिमा प्रवेश गर्न चाहेको बताए ।
नेविसंघबाट राजनीतिक यात्रा थालेका खड्का २०५१ सालमा नेविसंघको इलाम जिल्ला सभापति निर्वाचित भएका थिए ।
कांग्रेस विभाजन हुँदा देउवा समूह रोजेका उनी २०५८ मा नेविसंघको केन्द्रीय सदस्य र २०६४ सालमा नेविसंघ केन्द्रीय उपाध्यक्ष बनेका थिए ।
उनी कांग्रेसको १२औं महाधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भए ।त्यसपछि महाधिवेशन प्रतिनिधि र जिल्ला सभापति निर्वाचित उनी सक्रिय समाजसेवी समेत हुन् ।








प्रतिक्रिया