Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशनमा दैनिक दुईपटक प्रेस ब्रिफिङ हुने



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा सञ्चारकर्मीलाई सहज रूपमा समाचार संकलन र प्रसारण गर्न सक्ने व्यवस्था मिलाइएको कांग्रेसको मिडिया सेन्टर प्रमुख जीवन भण्डारीले बताएका छन् ।

काठमाडौंको खुलामञ्चमा सुरु भएको महाधिवेशनबारे जानकारी दिँदै भण्डारीले देश तथा विदेशबाट आएका प्रतिनिधि, नेता तथा कार्यकर्तासँगै विश्वभर रहेका कांग्रेसप्रति आस्था राख्ने नागरिकलाई महाधिवेशनका गतिविधिबारे जानकारी दिन मिडियालाई प्राथमिकताका साथ स्थान दिइएको बताए ।

उनले कांग्रेस लोकतन्त्र, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भएकाले महाधिवेशनमा सञ्चारकर्मीका लागि विशेष व्यवस्था गरिएको बताए ।

उनले भने, ‘लोकतन्त्रको प्राणवायु हो प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता, त्यसकारण मिडिया सेन्टरलाई वा अझै मिडियालाई प्राथमिकताका साथ नेपाली कांग्रेसले महाधिवेशनमा स्पेस दिएको छ ।’

महाधिवेशनस्थलमा सञ्चारमाध्यमका लागि प्रत्यक्ष प्रसारण गर्न आवश्यक इन्टरनेट, वाइफाइ, प्लग तथा क्यामरा जडानका लागि आवश्यक व्यवस्था गरिएको उनले बताए । मिडियालाई स्टेजको अगाडि नै स्थान दिइएको भन्दै उनले अन्य कार्यक्रमको तुलनामा कांग्रेसले सञ्चारकर्मीलाई सहज हुने गरी स्थान उपलब्ध गराएको बताए ।

मिडिया सेन्टरमा समाचार लेखनका लागि कम्प्युटर तथा निःशुल्क र डेडिकेटेड वाइफाइको व्यवस्था गरिएको उनले जानकारी दिए । पत्रकारलाई सहयोग गर्न स्वयंसेवी रूपमा समेत जनशक्ति परिचालन गरिएको उनले बताए ।

कसैले न्युजको काम गर्नुहुन्छ, कसैले भिडियोको काम गर्नुहुन्छ, कसैले फोटोको काम गर्नुहुन्छ,’ उनले भने । भण्डारीका अनुसार अहिले मिडिया सेन्टरमा करिब १५–२० जना पत्रकार तथा सहयोगी परिचालन भएका छन् । महाधिवेशनका गतिविधि, फोटो, भिडियो, अडियो तथा समाचार सामग्री सञ्चारमाध्यमलाई उपलब्ध गराउन ‘एनसी मिडिया सेन्टर’को ह्वाट्सएप समूह, इमेल तथा कांग्रेसको आधिकारिक फेसबुक पेजमार्फत समेत सामग्री उपलब्ध गराइनेछ ।

महाधिवेशनका क्रममा दैनिक दुई पटक प्रेस ब्रिफिङ गर्ने तयारी गरिएको उनले बताए। बन्दसत्रपछि दिउँसो र साँझ गरी दुईपटक प्रवक्तामार्फत मिडिया ब्रिफिङ गरिने उनको भनाइ छ ।

महाधिवेशनका लागि गठन गरिएका १५ वटा समितिले गरेका काम तथा नयाँ निर्णयबारे पनि सञ्चारकर्मीलाई समय–समयमा जानकारी गराइने उनले बताए । साथै उम्मेदवारी घोषणा तथा पत्रकार सम्मेलन गर्न चाहने उम्मेदवारका लागि समेत मिडिया सेन्टरले सहजीकरण गर्ने उनले जानकारी दिए ।

देश तथा विदेशमा रहेका सञ्चारमाध्यमलाई महाधिवेशनको प्रत्यक्ष प्रसारणका लागि फिड तथा लिङ्क उपलब्ध गराइने भण्डारीले बताए । उक्त लिङ्कमार्फत सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्न सक्ने र त्यसका लागि अतिरिक्त शुल्क तथा कपिराइटसम्बन्धी समस्या नहुने व्यवस्था गरिएको उनले जानकारी दिए ।

भोलिदेखि बन्दसत्र सुरु हुने भएकाले सञ्चारकर्मीको प्रवेश व्यवस्थापन गरिने भए पनि समाचार संकलनका लागि आउने पत्रकारलाई महाधिवेशनस्थल र मिडिया सेन्टरमा प्रवेशमा बाधा नहुने उनले स्पष्ट पारे ।

‘सूचना विभाग वा प्रेस पासबाट हुन्छ कि, अनि यहाँको छुट्टै प्रेस पास बनाएर हुन्छ कि, जे गरेर हुन्छ, पत्रकारहरूलाई समाचार सङ्कलन गर्नका लागि आउनेहरूलाई यहाँ नेपाली कांग्रेसको महाधिवेशन स्थल खुलामञ्चमा आउन र यो मिडिया सेन्टरमा आउन कुनै बाधा–अवरोध नहुने कुरा म ठोकुवाका साथ भन्न सक्छु,’ भण्डारीले भने ।

उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका समाचारलाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरी आम जनतासम्म पु¥याउन देश तथा विदेशमा रहेका सञ्चारकर्मीलाई आग्रहसमेत गरे ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १ : २४ बजे