काठमाडौं। त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीमा परी मृत्यु हुनेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ रहेका छन्।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक सोमबार दिउँसो आगलागी भएको थियो। आगलागीमा परी गम्भीर घाइते भएका तामाङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले जानकारी दिए।
प्रहरीका अनुसार तामाङ यसअघि २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा समेत संलग्न थिए। उक्त घटनापछि उनी फरार रहेको प्रहरीको भनाइ छ।
अनुसन्धानका क्रममा तामाङले सो घटनामा सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको एसएसपी घिमिरेले बताए।
त्रिपुरेश्वरको घटनामा पनि उनले दाबा लामाको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ।
अन्य व्यक्तिको नाममा जारी परिचयपत्र तथा कागजात प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया