काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘द ग्रे जोन’ले सार्वजनिक गरेको रिपोर्टबारे सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गर्दै प्रकाशित रिपोर्टबारे भट्टराईले सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्ने बताएका हुन्।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले राजनीतिमा आरोप–प्रत्यारोप र दुष्प्रचार हुन सक्ने भए पनि सत्तामा रहेका व्यक्तिले सार्वजनिक रूपमा उठेका प्रश्नको तथ्यसहित जवाफ दिनुपर्ने बताए।
‘ग्रे जोन रिपोर्ट मैले पनि हेरें । राजनीतिमा अनेक चिजहरू हुन्छन्, कतिपय मान्छेले दुष्प्रचार पनि गर्छन् । तर लोकतन्त्रमा कसैले आरोप लगाइसकेपछि सत्तामा हुनेहरूले चित्तबुझ्दो ढंगले जवाफ दिनुपर्छ,’ उनले भने।
रिपोर्टमा उल्लेख गरिएका विषयमध्ये के सत्य र के असत्य हुन् भन्ने सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।
भट्टराईले नेपालका सबै राजनीतिक परिवर्तन र घटनालाई विदेशी शक्तिसँग जोडेर हेर्ने प्रवृत्ति पनि गलत भएको बताए। तर नेपाल भू–राजनीतिक रूपमा संवेदनशील मुलुक भएकाले भारत, चीन र अमेरिकालगायत ठूला शक्तिको चासो नहुने भन्न नसकिने उनले बताए।
‘सबै बाहिरकाले मात्रै गर्यो’ भन्ने ढंगले हरेक राजनीतिक परिवर्तनलाई विदेशी षड्यन्त्रका रूपमा व्याख्या गर्नु गलत हुने उनको भनाइ छ। तर यस्ता विषय सार्वजनिक हुँदा सत्यतथ्य स्पष्ट पार्नु आवश्यक रहेको उनले बताए।
सरकार विनम्र भएर सिक्दै अघि बढ्नुपर्छ
भट्टराईले वर्तमान सरकारमा धेरैजसो नयाँ व्यक्ति रहेकाले राज्य सञ्चालनको अनुभव हासिल गर्न समय लाग्ने बताए। उनले सरकार जिम्मेवार र विनम्र भएर आफ्ना कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने सुझाव दिए।
राज्य सञ्चालन किताब पढेर मात्रै सिकिने विषय नभएको भन्दै उनले व्यवहारबाट पनि सिक्दै जानुपर्ने बताए। सरकारमा रहेकाहरूले ‘सबै कुरा जानेको छु’ भन्ने मानसिकता त्यागेर सिक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
सरकारका कमजोरीलाई लिएर तत्कालै ‘बर्बाद भयो, सिद्धियो’ भन्ने ढंगले आलोचना गर्नु पनि उचित नहुने उनले बताए। नयाँ पुस्ताले पुरानाबाट सिक्ने र पुरानाले नयाँलाई सहयोग गर्ने वातावरण आवश्यक रहेको भट्टराईको भनाइ छ।
बालेनको काम गर्ने शैली परिणाममुखी
भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको काम गर्ने शैली केही हदसम्म परिणाममुखी रहेको बताएका छन्। बाहिरी प्रचारभन्दा काम गरेर परिणाम देखाउने शैली सकारात्मक रहेको उनले बताए।
तर, बालेन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा भए पनि हालको संवैधानिक व्यवस्थाअनुसार संसद्प्रति उत्तरदायी हुनुपर्ने भट्टराईले बताए।
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म संसद्मा उपस्थित भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ।
बाहिरी भेटघाट र प्रचारभन्दा चुपचाप काम गरेर परिणाम देखाउने बालेनको शैली भने सकारात्मक रहेको भट्टराईले बताए।








प्रतिक्रिया