Logo

कर्पोरेट

प्रभु बैंकद्वारा बाढी प्रभावितका लागि २ करोड ११ लाख रुपैयाँ सहयोग



काठमाडौं। प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरेको हो।

भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

भदौ १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा आएको अचानकको बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्तीमा मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। बाढीबाट प्रभावितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको छ।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष किशोर जङ्ग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति थियो।

बैंकले बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन तथा घाइतेको शीघ्र उद्धार र उपचारको कामना गरेको छ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ११ : ४१ बजे