काठमाडौं । चीनले नेपाल–चीन सीमा क्षेत्रमा बनेको पहिरोजन्य ताल फुट्ने जोखिम रहेको भन्दै नेपाललाई आपत्कालीन प्रतिकार्यका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ।
काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार वक्तव्य जारी गर्दै तालको तल्लो तटीय क्षेत्रमा रहेका स्थानीय बासिन्दा तथा सम्बन्धित कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।
दूतावासका अनुसार चीन–नेपाल सीमा नदीको माथिल्लो तटीय क्षेत्रमा पर्ने नेपाली भूभागको एक सहायक नदीमा हिम–पहिरो गएपछि नदी थुनिएर पहिरोजन्य ताल बनेको हो। तालमा पानीको सतह उच्च विन्दुमा पुगेको र पानी बाहिरिन थालेकाले ताल फुट्ने जोखिम बढेको दूतावासले जनाएको छ।
“नेपाल र चीन दुवै देशका लागि उद्धार तथा आपत्कालीन प्रतिकार्यका दृष्टिले यो स्थिति हाल निकै संवेदनशील मोडमा छ,” प्रवक्ताले वक्तव्यमा भनेका छन्।
दूतावासले तल्लो तटीय क्षेत्रका स्थानीय समुदाय तथा सम्बन्धित कर्मचारीलाई नदीको पानीको सतहमा हुने परिवर्तन नजिकबाट नियाल्न, उच्च सतर्कता अपनाउन तथा पूर्वतयारी र आपत्कालीन प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ।
चीन र नेपालका सम्बन्धित निकायले अवस्थाको निरन्तर अनुगमन गर्दै जोखिमको मूल्यांकन तथा व्यवस्थापन गरिरहेको दूतावासले जनाएको छ।
सर्वसाधारणलाई आधिकारिक सूचनामात्र पछ्याउन, पुष्टि नभएका सूचना नफैलाउन र अनावश्यक त्रास सिर्जना नगर्न पनि दूतावासले आग्रह गरेको छ।








प्रतिक्रिया