Logo

मुख्य समाचार

आठ हजार स्थानीयवासी लाभान्वित हुने खानेपानी आयोजनाको प्रधानमन्त्रीले गरे उद्घाटन



पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकामा निर्माणाधीन वृहत पम्पिङ खानेपानी आयोजनाको सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
तुम्बेवा गाउँपालिका वडा नं. १, २ र ३ का एक हजार ६०४ घरधुरीमा खानेपानी पुर्‍याउने उद्देश्यका साथ आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना निर्माण भइरहेको छ ।

आयोजना हेर्ने संघीय खानेपानी तथा ढल निकास आयोजना इलामका प्रमुख सुरतलाल चौधरीका अनुसार एक हजार ६०४ घरधुरीमध्ये हालसम्म ९०४ घरधुरीमा पाइपलाइन विस्तार भएको छ भने मौवा बजारका करीब ४० घरमा खानेपानी वितरण सुरुवात भएको छ । सोमबार तुम्बेवा गाउँपालिका–३ मौवा बजारस्थित इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको धाराको टुटी खोलेर प्रधानमन्त्री देउवाले आयोजनाको उद्घाटन गरेका हुन् ।

चौधरीका अनुसार आयोजनाको हालसम्म करीब ९५ प्रतिशत भौतिक प्रगति हासिल भए पनि उपभोक्ता समिति, तुम्बेवा गाउँपालिका तथा अन्य सरोकारवालाको आग्रहमा आयोजनाको उद्घाटन गरिएको हो ।

आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आयोजनाले खानेपानीको संवैधानिक अधिकार तथा दीगो विकासको लक्ष्य प्राप्तिका लागि सहयोग गरेको बताए । ‘स्वच्छ खानेपानी र सरसफाइको सुविधा आम नागरिकसम्म पुर्‍याउनु सरकारको दायित्व हो,’ प्रधानमन्त्री देउवाले भने, ‘सहरी र गाउँहरूमा स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था अझैसम्म सुनिश्चित पार्न सकिएको छैन । जसकारण धेरै समय खानेपानीको खर्च गर्नु परेको छ ।’

यस प्रकारको अवस्था अन्त्य गर्न स्थानीय स्तरका मुहानमा आधारित साना र मझौला आयोजना निर्माणमा जोड दिनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले चालु १५औं पञ्चवर्षीय अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले बेमौसमी वर्षाका कारण भएको क्षतिको पुनर्निर्माण तथा क्षतिपूर्तिको ब्यवस्था तथा विशेष महत्वमा आयोजनाहरूको निरन्तरता सरकार प्रतिवद्ध रहेको बताए ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले पहाडी क्षेत्रमा खानेपानीको मुहान संरक्षणको योजना अगाडि बढाइएको बताउँदै लिफ्टिङ तथा पम्पिङ खानेपानी आयोजनामा विद्युत महसुल छुटको व्यवस्था गर्ने व्यवस्था आवश्यक रहेको बताए ।

तुम्बेवा गाउँपालिका वडा नं. १, २, ३ का एक ६०४ घरमा खानेपानीको सुविधा पुर्‍याउन असार २०७४ बाट आयोजना निर्माण थालिएको थियो । ४५ करोड २० लाख नौ हजार ४०६ रुपैयाँको लागतमा उक्त आयोजना निर्माण भएको आयोजनाबाट आठ हजारभन्दा बढी स्थानीयवासी लाभान्वित हुने सरकारी तथ्याङ्क छ ।

तमोर नदीको लखुवाघाटबाट विभिन्न स्थानमा रहेका सातवटा पम्पिङ ट्याङ्कीहरुको सहायताले एक हजार ३३६ मिटरमाथि मौवा डाँडामा ल्याई वितरणको व्यवस्था मिलाइएको हो । जस कार्यका लागि ११ केभीएको विद्युत प्रशारण लाइन २३ किलोमिटर विस्तार गरिनुका साथै १९ किलोमिटर ट्रान्समिसन लाइन निर्माण गरिएको छ । आयोजनामा प्रतिसेकेन्ड १०.९७ लिटर पानी मौवा बजारस्थित अन्तिम पम्पिङ ट्याङ्कीमा आउने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

आयोजनाको सोमबार उद्घाटन भए पनि खानेपानी वितरणको कार्य सुरुवातकै चरणमा छ । एक ६०४ घरधुरीमा खानेपानी पुर्‍याउनुपर्ने भए पनि हालसम्म करिब ९०० घरसम्म पाइपलाइन विस्तार भएको छ । यस्तै मौवा बजारका करिब ४० घरमा खानेपानी वितरण थालिएको छ । अन्यत्र क्रमशः खानेपानी विस्तार हुने संघीय खानेपानी तथा ढल आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले बताए । कार्यक्रममा तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले पम्पिङका क्रममा लाग्ने विद्युत महशुल छुटको ब्यवस्था गरिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ३२ बजे