Logo

विश्व

युक्रेन सङ्कटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्याण्ड जाने



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्डको जाने भएका छन् । यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्ने ह्वाइटहाउसले जनाएको छ।

उक्त भ्रमण नेटो सहयोगीहरू, जि ७ नेताहरू र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जनाएका छन् । मार्च २५ मा राष्ट्रपति बाइडेन पोल्याण्डको वारसा पुग्ने र त्यहाँ उनले राष्ट्रपति एन्ड्रेज डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ।

‘राष्ट्रपतिले हाम्रा सहयोगी र साझेदारहरूसँगै संयुक्त राज्य अमेरिकाले कसरी प्रतिक्रिया दिन्छ भनेर छलफल गर्नुहुनेछ’, ह्वाइटहाउसले उल्लेख गरेको छ। मार्च २३ मा बाइडेन बेल्जियमको ब्रसेल्स पुग्नुहुनेछ।

मार्च २४ मा बाइडेनले युक्रेनमा रूसको अप्रत्याशित र अनुचित आक्रमणको प्रतिक्रियामा चलिरहेको प्रतिरोध र रक्षा प्रयासहरूबारे छलफल गर्न एक असाधारण नेटो शिखर सम्मेलनमा भाग लिनेछन्। राष्ट्रपतिले हाम्रा नेटो सहयोगीहरू र नेटो क्षेत्रको रक्षा गर्नको लागि कडा प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  २ : ०० बजे