भक्तपुर । मातृभूमि विद्यालयले आयोजना गरेको ‘मातृभूमि अन्तरविद्यालय गणित हाजिरीजवाफ प्रतियोगिता’ सम्पन्न भएको छ। प्रतियोगितामा २० वटा विद्यालयको सहभागिता रहेको थियो।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विभिन्न चरणमा आफ्नो विश्लेषणात्मक क्षमता, तार्किक सोच, समस्या समाधान गर्ने दक्षता, टोलीगत सहकार्य तथा आत्मविश्वास प्रस्तुत गरेका थिए। प्रतियोगितामा र्यापिड फायर राउण्ड, मेमोरी टेस्ट, दृश्य राउण्ड, बजर राउण्ड, पजल च्यालेञ्ज तथा अन्तिम चरणलगायतका चरणहरू समावेश गरिएको थियो।

कार्यक्रमको उद्घाटन विद्यालयका संस्थापक निर्देशक, प्राचार्या, अतिथि, सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका, अभिभावक तथा शुभेच्छुकको उपस्थितिमा भएको थियो। कार्यक्रममा विद्यालय नेतृत्वले गणित विषयले विद्यार्थीमा तार्किक चिन्तन, सिर्जनशीलता, नवप्रवर्तन तथा विश्लेषणात्मक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएको थियो।
प्रतियोगिताको संयोजन तथा सञ्चालन जय राम अधिकारीले गरेका थिए। आयोजक समितिसहित शिक्षक-शिक्षिका, स्वयंसेवक तथा विद्यालयका कर्मचारीको समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको थियो।
कडा प्रतिस्पर्धापछि काञ्जिरोवा नेशनल सेकेन्डरी स्कुलको टिम ‘ए’ विजेता बनेको छ। विश्वज्ञान पाठशालाको टिम ‘ए’ प्रथम उपविजेता, त्रियोग हाई स्कुल द्वितीय उपविजेता र काञ्जिरोवा नेशनल सेकेन्डरी स्कुलको टिम ‘बी’ सान्त्वना भएको छ।
समापन समारोहमा प्राचार्यले सहभागी विद्यालय, विद्यार्थी तथा शिक्षकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। विद्यालयले प्रतियोगितामा सहयोग गर्ने निर्णायक मण्डल, सहभागी विद्यालय, शिक्षक-शिक्षिका, स्वयंसेवक, अभिभावक तथा अन्य सहयोगीप्रति धन्यवाद व्यक्त गरेको छ।
विद्यालयका अनुसार प्रतियोगिताले विद्यार्थीमा गणितप्रतिको रुचि बढाउनुका साथै तार्किक चिन्तन, समस्या समाधान क्षमता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुगेको छ। विद्यालयले आगामी दिनमा पनि यस्ता शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।











प्रतिक्रिया