काठमाडौं । नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एशियाकै पहिलो र एकमात्र ओलम्पिक संग्रहालयका रूपमा स्थापित नेपाल ओलम्पिक म्यूजियमले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा नेपालकै पहिलो खेलकुदसम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको छ ।
‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ शीर्षकको प्रदर्शनी साउन १९ देखि २१ गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलमा जानकारी दिइएको हो ।
संग्रहालयले आफ्ना दिवंगत संस्थापक वरिष्ठ खेलकुद पत्रकार स्वर्गीय क्षितिज अरुण श्रेष्ठ तथा दक्षिण एशियाली खेलकुद (साग) की तेक्वान्दो पदक विजेता स्वर्गीय मञ्जु तुलाधरको योगदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै खेलकुद इतिहासको संरक्षण, अभिलेखीकरण र प्रवद्र्धनमार्फत राष्ट्रिय खेलकुदको पहिचानलाई सुदृढ बनाउने तथा भावी पुस्तालाई प्रेरित गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको छ ।
प्रदर्शनीमा नेपालको समृद्ध खेलकुद इतिहास, खेलाडीहरूको योगदान, उपलब्धि तथा ओलम्पिक यात्रासँग सम्बन्धित सामग्री एकै स्थानमा अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब पाँच लाख दुर्लभ तथा ऐतिहासिक खेलकुद तस्बिरमध्ये छनोट गरिएका तस्बिरहरूको प्रदर्शनी, पदक, ट्रफी, जर्सी, खेल सामग्री तथा अन्य ऐतिहासिक खेलकुद स्मृतिचिन्हहरू प्रदर्शन गरिनेछ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, प्रशिक्षक, खेल प्रशासक र खेलप्रेमीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रदर्शनी विद्यार्थी, अनुसन्धानकर्ता, खेलकर्मी तथा सर्वसाधारणका लागि नेपालको खेलकुद इतिहासलाई नजिकबाट बुझ्ने र अध्ययन गर्ने अवसरसमेत हुने विश्वास आयोजकको छ ।
नेपाल ओलम्पिक म्यूजियमका अध्यक्ष सन्सी श्रेष्ठले नेपालको गौरवशाली खेलकुद इतिहासलाई आम नागरिक, खेलप्रेमी तथा विद्यार्थीमाझ पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै कार्यक्रमको प्रचारप्रसार तथा समाचार सम्प्रेषणमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।








प्रतिक्रिया