काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान गरेकी छन् । ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको हो ।
जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित (निङ्ची) मा आयोजना हुने अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी पाँचौं चीन–तिब्बत ट्रान्स–हिमालय मञ्चमा सहभागी हुन ठाकुर आज बिहान १०ः४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत् चीन गएकी हुन् ।
उनको टोलीमा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोग्रामर अनिशा ढकाल रहेका छन् ।
असार ३१ देखि साउन २ गते (१५–१७ जुलाई २०२६) सम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय मञ्चमा उपसभामुख रुवीले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा हिमालय क्षेत्रको दिगो विकास, क्षेत्रीय सहकार्य तथा आपसी सम्बन्ध विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा उपसभामुख र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसि) सिजाङ स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ जुनझेङबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ । साथै अन्य उच्चस्तरीय भेटघाटहरू पनि हुने छ । प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी साउन ४ गते दिउँसो १२ः३५ बजे स्वदेश फर्कने छन् ।








प्रतिक्रिया