Logo

अर्थ

घर–घरका ग्यास सिलिन्डरको डिजिटल रेकर्ड बनाउन संसदीय समितिको आग्रह



काठमाडौं । उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका घरधुरीमा रहेका एलपी ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख (डाटाबेस) निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले प्रभावकारी अनुगमन, आपूर्ति व्यवस्थापन र उपभोक्ता सुरक्षाका लागि घर–घरमा रहेका ग्यास सिलिन्डरको विवरण समेट्ने डिजिटल प्रणाली आवश्यक रहेको बताएका हुन् ।

्बुधबार बसेको समितिको बैठकमा बोल्दै अन्सारीले हाल राज्यसँग प्रत्येक घरमा कति वटा ग्यास सिलिन्डर छन् भन्ने आधिकारिक तथ्यांक नभएकाले अनुगमन र व्यवस्थापनमा समस्या भइरहेको बताए ।

उनले घरधुरी म्यापिङमा आधारित एकीकृत प्रणाली विकास गरी ग्यास कम्पनी, वितरक र नेपाल आयल निगमले समेत कुन घरमा कति सिलिन्डर छन् भन्ने जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

अन्सारीले यस्तो प्रणाली विकास गर्न ठूलो चुनौती नरहेको उल्लेख गर्दै वर्तमान सरकारकै कार्यकालमा कार्यान्वयनमा ल्याउन आग्रह गरे । उनका अनुसार डिजिटल प्रणाली लागू भएपछि ग्यास वितरणलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।

बैठकमा उनले भारतसँग प्रस्तावित एलपी ग्यास पाइपलाइन परियोजनाको विषयमा पनि सरकार थप सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए । भारत सरकारले विभिन्न समयमा परियोजनाप्रति चासो देखाएको भए पनि त्यसलाई कार्यान्वयनको चरणमा पु¥याउन नेपाल सरकारले कूटनीतिक तथा प्राविधिक पहल तीव्र बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले सरकारलाई भारतसँग समन्वय गरेर पाइपलाइन निर्माणको स्पष्ट समयसीमा, भण्डारण क्षमता तथा कार्ययोजना सार्वजनिक गर्न आग्रह गरे । साथै, ग्यास उद्योगहरूको सहकार्यमा हाउजिङ सोसाइटी तथा घना बस्तीहरूमा सामूहिक ग्यास वितरण प्रणालीको प्रवद्र्धन गर्न पनि उनले सुझाव दिए ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ११ : २० बजे