Logo

मुख्य समाचार

बुडर–जोरायल सडक निर्माणमा ढिलाइ भएको भन्दै रास्वपा डोटीद्वारा ध्यानाकर्षण



दिपायल । बुडर–जोरायल–गड्सेरा सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले गम्भीर आपत्ति जनाएको छ।

वर्षौंदेखि निर्माण कार्य अलपत्र पर्दा स्थानीय नागरिकले धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको भन्दै रास्वपाले पूर्वाधार विकास कार्यालय, डडेलधुरालाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्माण कार्यलाई तीव्रता दिन माग गरेको हो।

रास्वपा डोटीका जिल्ला सह–सचिव तथा संगठन विभाग प्रमुख डिल्ली राज भट्टले पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै सडक निर्माणमा भइरहेको ढिलासुस्तीले स्थानीय नागरिकको दैनिक जनजीवन, शिक्षा, स्वास्थ्य र व्यापारिक गतिविधिमा गम्भीर असर पु¥याएको बताएका छन्।

ज्ञापनपत्रमा २०७१ सालमा यसै सडकखण्डमा भएको दुखद् बस दुर्घटनाको स्मरण गर्दै सुरक्षित र गुणस्तरीय सडक नहुँदा स्थानीय बासिन्दा अझै पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उल्लेख गरिएको छ।

निर्माण कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाले दुवै आयोजनाको कार्य प्रगति अत्यन्त सुस्त रहेको औंल्याएको छ।

राजेन्द्र–शर्मा जेभीसँग २०७७ असार ३० गते सम्झौता भएको पहिलो आयोजनाको म्याद २०८२ पुस २९ सम्म थपिएको छ भने हालसम्म ४३.९१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। सो आयोजना सम्पन्न गर्न थप १७ करोड रुपैयाँ आवश्यक रहेको देखिएको छ।

त्यसैगरी, २०७८ असार १५ गते सम्झौता भएको केएस कन्स्ट्रक्सन प्रालिको दोस्रो आयोजनाको म्याद २०८३ चैत ३० सम्म पु¥याइए पनि हालसम्म ५१.९८ प्रतिशत मात्र प्रगति भएको छ र उक्त कार्यका लागि थप ६ करोड ५० लाख रुपैयाँ आवश्यक देखिएको छ।

रास्वपाले निर्माण कार्यमा भइरहेको ढिलाइको वास्तविक कारण सार्वजनिक गर्न र तोकिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्न सम्बन्धित निकायलाई जोडदार आग्रह गरेको छ।

कुनै पनि पक्षलाई दोषारोपण गर्ने आफ्नो उद्देश्य नरहेको स्पष्ट पार्दै रास्वपाले नागरिकको सुरक्षा र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर निर्माण अवधिभर सुरक्षित आवागमनको सुनिश्चितता गर्न भट्टले जारी गरेको विज्ञप्तिमा माग गरिएको छ।

वर्तमान सरकारको सुशासन र जवाफदेहिताको नीतिअनुसार यस आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न रास्वपाले पूर्वाधार विकास कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको छ।

यस्तै रास्वपाका डोटी जिल्ला सभापति केशव बलायरले डोटीका सबै सडक निर्माणमा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए।

’हाम्रो जिल्ला त्यसै पनि विकासका दृष्टिकोणले पछाडि छ। सडक सञ्जालको सहज पहुँच नहुँदा डोटीवासीले थप सास्ति खेपिरहनु भएको छ। यहाँका उत्पादनले राम्रो बजार पाउन सकेका छैनन्। त्यसैले सम्बन्धित निकायले लापहबाही नगरोस्,’ उनले भने।

ज्ञापनपत्र बुझ्दै पूर्वाधार विकास कार्यालय, डडेलधुराका प्रमुख नवराज रावलले आफूहरू सडक निर्माणका विषयमा गम्भीर रहेको बताएका छन्। उनले हालसम्म सडकको वित्तीय प्रगति ४४ प्रतिशत रहेकोमा भौतिक प्रगति ५० प्रतिशत हाराहारी रहेको बताएका छन्।

निर्माण कम्पनिलाई तालिकाअनुसार काम सक्न निर्देशन दिँदै आएकोमा उनीहरूको लापरबाहीका कारण अपेक्षित रुपमा प्रगति हासिल गर्न नसकिएको उनको स्वीकारोक्ति छ। उनले अहिले जरिवाना लगाएर काम अगाडि बढाइएको बताएका छन्।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  १ : ०६ बजे