काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार खुला मञ्चबाट ‘टोल टोलमा फिल्म महोत्सव’ को औपचारिक शुभारम्भ गरेको छ ।
शुभारम्भका अवसरमा खुला मञ्चमा अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरिएका छन् । यी चलचित्रहरू काठमाडौं माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभलसँगको सहकार्यमा प्राप्त भएका हुन् ।
महोत्सवका कार्यक्रम असार महिना भरि हरेक शुक्रबार र शनिबार सञ्चालन हुनेछन् । यी कार्यक्रममा प्रदर्शन गरिने लघु चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, काठमाडौं माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल, नेपाल फिल्म एकेडेमीसँग सहकार्यमा प्राप्त भएका छन् ।
कार्यक्रमको प्राविधिक पक्ष महानगरपालिका आफैँले व्यवस्थापन गरेको छ भने व्यवस्थापनका खुला आव्हानबाट स्थानीय सङ्घसंस्थाहरू छनोट गरेको छ । यसरी छानिएका संस्थाहरूले कार्यक्रम व्यवस्थापन गर्नेछन् । यसअन्तर्गत आजको कार्यक्रम इकोज इन द भ्यालीले गरेको छ । भोलि असन क्षेत्रमा महोत्सव हुनेछ । यो कार्यक्रम नीलः सांस्कृतिक क्लवले गर्नेछ ।
येँःका पुचले बालाजु बाइपास क्षेत्रमा, निर्णय नेपालले बागबजार सडक खण्डमा, नेपाल भाषा स्यनेकने फाउण्डेसन, यट्खा बहाल भाष्करकीर्ति महाविहारमा, न्हुग पःला सांस्कृतिक मिसा पुचःले लगनटोल, मैतीदेवी युनाइटेड क्लवले मैतीदेवी मन्दिर खुला चौरमा कार्यक्रम व्यवस्थापन गर्नेछन् । सार्वजनिक स्थल, पार्क, डवली, चोकहरूमा फिल्म महोत्सवका कार्यक्रम आयोजना गर्ने योजना अनुरूप यी स्थान छानिएका हुन् ।
नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारलाई योगदान दिन रचनात्मक उद्योग र समुदायसँग जोड्नु यो महोत्सवको मुख्य उद्देश्य हो । महोत्सवमा लघु चलचित्र प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम तथा क्रियाकलाप हुनेछन् । मौलिक खानाका परिकार राखिनेछन् ।
कान्स फिल्म फेस्टिभलमा अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ र ‘वेस्ट साउण्ड क्रियसन’ अवार्डेड नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरु)’लाई नगद १० लाख रुपियाँसहित सम्मान गरिएको छ ।








प्रतिक्रिया