Logo

अर्थ

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख, चालु आवभन्दा १ अर्ब बढी



पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा १ अर्ब २ करोड रुपैयाँ बढीको बजेट ल्याइएको जानकारी दिए। चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो।

कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड २६ लाख रुपैयाँ अर्थात् ३८.५६ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख रुपैयाँ अर्थात् ६०.६८ प्रतिशत बजेट छुट्याइएको छ। वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

बजेटका लागि प्रदेश सरकारले नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानअन्तर्गत ७ अर्ब ४ करोड ८२ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख रुपैयाँ तथा रोयल्टी बाँडफाँटबाट ५१ करोड ४ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ।

त्यस्तै, सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड रुपैयाँ, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख रुपैयाँ र विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

आन्तरिक स्रोत परिचालनबाट ५ अर्ब ४ करोड १ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने चालु आर्थिक वर्षबाट २ अर्ब रुपैयाँ मौज्दात रहने अनुमान गरिएको छ।

बजेट कार्यान्वयनका लागि अपुग १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणमार्फत जुटाइने मन्त्री शेरचनले जानकारी दिए।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ६ : १० बजे