Logo

मुख्य समाचार

महिला सहकारी सम्मेलन हुँदै, उद्यमशीलता र बजार पहुँच विस्तारमा जोड



काठमाडौं-महिला नेतृत्व, उद्यमशीलता विकास र सहकारीमार्फत आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै राष्ट्रिय सहकारी महासंघ नेपालले आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६ आयोजना गर्ने भएको छ।

‘नेतृत्वमा नारी : समृद्धिमा सहकारी’ मूल नारासहित हुने सम्मेलनले महिला किसान, उद्यमी तथा सहकारीकर्मीहरूको आर्थिक योगदानलाई उजागर गर्नुका साथै उत्पादन, रोजगारी र बजार पहुँच विस्तारका विषयमा नीतिगत बहस अघि बढाउने महासंघले जनाएको छ।

महासंघका महाप्रबन्धक डा. बाबु काजी थापाका अनुसार सम्मेलनले सहकारी क्षेत्रभित्र लैङ्गिक उत्तरदायी नीति र अभ्यास सुदृढ गर्दै महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक सहभागिता बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्मेलनमा वित्तीय समावेशीकरण, डिजिटल रूपान्तरण, खाद्य सुरक्षा, महिला उद्यमशीलता, बजार विस्तार तथा सहकारीमार्फत रोजगारी सिर्जनासम्बन्धी विषयमा प्रस्तुति र प्यानल छलफल हुनेछन्। विभिन्न देशका सफल सहकारी अभ्यास र महिला नेतृत्वका अनुभवसमेत साझा गरिने कार्यक्रम रहेको छ।

संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा आयोजना हुन लागेको सम्मेलनले कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा महिलाको भूमिकालाई विशेष प्राथमिकतामा राख्नेछ।

नेपालको कुल गार्हस्थ उत्पादन (GDP) मा करिब एक चौथाइ योगदान गर्ने कृषि क्षेत्रमा ग्रामीण महिलाको उल्लेख्य संलग्नता रहेको छ भने देशभरका ३२ हजारभन्दा बढी सहकारीमा महिलाको सहभागिता करिब ५६ प्रतिशत रहेको तथ्यांक छ। यसले सहकारी क्षेत्रमार्फत महिला आर्थिक सशक्तीकरणको सम्भावना अझ बलियो बनेको देखाउँछ।

सम्मेलनमा नेपालसहित विभिन्न देशका महिला सहकारीकर्मी, नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार तथा उद्यमीहरूको सहभागिता रहनेछ। महिला सहकारी उत्पादन प्रदर्शनी, सीप प्रदर्शन तथा सफल सहकारीहरूको अवलोकन भ्रमणसमेत कार्यक्रमको हिस्सा रहनेछ।

महासंघका अनुसार सम्मेलनपछि जारी गरिने ‘काठमाडौं घोषणा–२०२६’ ले महिला नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन र सहकारी क्षेत्रका नीतिगत सुधारका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा सहभागिताका लागि प्रति व्यक्ति पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुख्य सहकार्यमा आयोजना हुने सम्मेलनमा राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, साना किसान विकास लघुवित्त, आइएलओ नेपाल र हेफर इन्टरनेशनल सहआयोजकका रूपमा रहनेछन्।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ९ : ४५ बजे