काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् ।
विश्व वातावरण दिवस (जुन ५) २०२६ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास, प्राकृतिक सम्पदाको संरक्षणमार्फत हामी भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सक्छौँ ।’
उनले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्वसमुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै जलवायु परिवर्तन भविष्यका लागि खतरामात्र नरहेर वर्तमान समयमा नै यसको प्रभाव देख्न सकिने बताए ।
राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यून गर्ने कार्यप्रति सबै नागरिक समुदाय तथा सरोकारवाला निकायको सक्रिय सहभागिताका लागि दिवसले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो । यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ ।








प्रतिक्रिया