काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ आदर्श वाक्यका साथ आज मनाउन लागिएको आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, “महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो । घर, समाज, कार्यस्थल र निर्णय प्रकृयामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवद्र्धन गर्न राज्य तथा नागरिक समाजबीच सहकार्य सुदृढ हुनुपर्ने आवश्यकता देखिन्छ ।”
राष्ट्रपति पौडेलले दिवसको अवसरमा महिलाको हकअधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवादसमेत व्यक्त गरेका छन् ।
विसं २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गर्दै बर्सेनी जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाइँदै आएको छ ।








प्रतिक्रिया