काठमाडौं । गणतन्त्रलाई नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि भएको नेकपा एमालेका केन्द्रीय सदस्य नरेश रोकायाले बताएका छन् । उनले १०४ वर्षे राणा शासन र २३९ वर्षसम्म कायम राजतन्त्रको निरंकुशताबाट पिल्सिएका निमुखा जनताले बल्ल अधिकार प्राप्त गरेको उल्लेख गर्दै यो व्यवस्थाप्रति आफूलाई निकै गौरव र खुसी रहेको बताए ।
पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस) मा अध्ययनरत रहँदा आफू विद्यार्थी आन्दोलनको अग्रपंक्तिमा रहेको स्मरण गर्दै रोकायाले २०६१ माघ १९ को शाही ‘कू’ विरुद्ध आफूहरूले कडा प्रतिरोध गरेको बताए । तत्कालीन शाही नेपाली सेनाको दमन र गोलीबारीका बीच पनि आफूहरू पछि नहटेको र कयौं सहकर्मीहरू घाइते भएको उनले सुनाए ।
आफू राजनीतिक चेतना भएको परिवारमा हुर्केका कारण आन्दोलनमा लाग्न सहज भएको बताउँदै उनले पीएन क्याम्पसलाई क्रान्तिकारी योद्धाहरू जन्माउने पवित्र तपोभूमि मान्ने गरेका छन् । विद्यार्थीहरू लहलहैमा लागेर नभई परिवर्तनको दृढ अठोटका साथ आन्दोलनमा होमिएको रोकायाको भनाइ छ ।
आन्दोलनका क्रममा शहीद भीमसेन दाहालले आफ्नो अगाडि नै गोली खाएर ज्यान गुमाएको पीडादायी घटनालाई उनले कहिल्यै बिर्सन नसक्ने बताए । सँगै आन्दोलनमा रहेका साथीको अकालमै ज्यान जानु र घाइतेहरूलाई हस्पिटल पु¥याउँदा पनि बचाउन नसक्नुको पीडा आन्दोलनको अविस्मरणीय पक्ष रहेको उनले उल्लेख गरे ।
गणतन्त्र स्थापनापछिको कालखण्डमा माओवादीले मच्चाएको आतंकको विरोधमा आफूहरूले प्रतिकार गरेको रोकायाले स्पष्ट पारे। सार्वजनिक स्थल र कलेज कब्जा गर्ने तथा नागरिकलाई आतंकित पार्ने कार्यविरुद्ध उभिएकै कारण आफूमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको र त्यसपछि हेलिकप्टरबाट उद्धार गरी उपचार गरिएको उनले जानकारी दिए ।
ऐतिहासिक संघर्षबाट प्राप्त गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै दलले लगानी गरे पनि, अहिलेको शासन व्यवस्थाले जनतालाई सुशासन र परिवर्तनको वास्तविक अनुभूति दिन नसक्दा उनी दुःखी छन् । उनले अहिलेको ‘जेन–जी’ पुस्ताको आक्रोशलाई राज्यको सेवा सुविधा र न्याय वितरणमा भएको कमजोरीको परिणामका रूपमा अथ्र्याएका छन् ।
रोकायाले नेपालमा शासन सत्ता सञ्चालन गर्ने निकायहरूलाई जनताको आवाज सुन्न र उनीहरूको भविष्यका लागि उचित निर्णय लिन आग्रह गरेका छन् । गणतन्त्रले सबैभन्दा बढी अधिकार भुइँतहका जनतालाई दिलाउनुपर्नेमा जोड दिँदै उनले नागरिकले अधिकार सम्पन्न भएको अनुभूति गर्न पाउनुपर्ने शुभकामना व्यक्त गरेका छन् ।








प्रतिक्रिया